‘स्मार्ट कृषि गाउँ’ : वैदेशिक रोजगारीबाट फर्केर कृषिमा रमाउँदै

 असार २४, २०७७ बुधबार ११:१३:३८ | हेमराज शर्मा

दाङ – तीन वर्ष मलेसिया र ४ वर्ष साउदीमा बिताउनुभएका दाङका गोविन्द रावत त्यहाँ राम्रो कमाइ नभएपछि स्वदेश फर्किनुभयो र गाउँमै तरकारी खेती गर्न थाल्नुभयो ।

कृषक गाेविन्द रावत

शान्तिनगर गाउँपालिका ७ दुविचौरका गोविन्द अहिले आफ्नै खेतबारीमा रमाउनुभएको छ । २०७५ सालदेखि गाउँमा स्मार्ट  कृषि कार्यक्रम लागू भएपछि दुईवटा टनेलमा तरकारी खेती सुरु गर्नुभएको छ । त्यसबाट एक सिजनकाे करिब ५० हजार रुपैयाँ जति आम्दानी हुने उहाँ बताउनुहुन्छ ।

विदेशमा हुँदा घर खर्च चलाउन पनि धौधौ भएको तर अहिले गाउँघरमै तरकारी खेती गरेर आफ्नो र परिवारको पेट पाल्ने मात्रै होइन पैसा बचत पनि गरिरहेको भन्दै उहाँ खुसी व्यक्त गर्नुहुन्छ ।

दाङमा २ वर्ष अघिदेखि सुरु भएको ‘स्मार्ट कृषि गाँउ’ कार्यक्रमबाट गोविन्दलाई तरकारी खेती गर्न हौसला मिलेको हो । अहिले गोविन्द जस्तै दाङका धेरैजनाले यो कार्यक्रमको लाभ लिइरहेका छन् ।

परम्परागत खेती गर्दै आइरहेकाहरुले स्मार्ट कृषि गाउँ कार्यक्रम सुरु भएपछि व्यवसायिक रुपमा खेती गर्न थालेका छन् । जसका कारण आफूहरुको आम्दानी बढेको उनीहरुको भनाई छ । प्रदेश ५ सरकारले २०७५ सालमा कृषिको पकेट क्षेत्र विकास गर्ने योजनाअन्तर्गत दाङका ६ गाउँलाई स्मार्ट कृषि गाउँमा परिणत गर्ने योजना अगाडि बढाएको थियो  । 

कृषक माेहनलाल खत्री

कृषि ज्ञान केन्द्र दाङको समन्वयमा एक सांसद एक कृषि गाउँ अन्तर्गत ६ गाउँलाई स्मार्ट कृषि गाउँ बनाएको हो । यो कार्यक्रम देउखुरी क्षेत्रमा लमहीको हरदवा, गढवाको गुसुरा, घोराही–८ स्यानी गाउँ, तुलसीपुर–१४ लुहाडबर मटेरा, बंगलाचुलीको रिभानटोल गाउँ र शान्तिनगर–७ दुबिचौरमा लागू भएको छ । 

स्मार्ट कृषि गाउँ लागू भएको शान्तिनगर गाँउपालिका–७ का मोहनलाल खत्रीले कृषि व्यवसायबाट राम्रो आम्दानी गर्नुभएको छ ।

यसअघि परम्परागत रुपमा धान र मकै खेती गर्दै आएका खत्रीले व्यवसायिक तरकारी खेती गर्न सुरु गर्नुभएको छ । आधुनिक तरिकाले कृषि गर्दा उत्पादन र आम्दानी बढेको उहाँको भनाइ छ ।

‘अहिले धेरै राम्रो भएको छ, पहिलेको जस्तो समस्या छैन, यसरी तरकारी खेती गर्दा सजिलोसँगै आम्दानी पनि राम्रो हुँदो रहेछ’, उहाँ आफ्नो अनुभव सुनाउनुहुन्छ ।

एउटा सानो टनेलबाट प्रति सिजन १५/२० हजार रुपैयाँ सम्म आम्दानी हुने गरेको छ भने उहाँको टमाटर खेतीका लागि मात्र ६ वटा टनेल छन् ।

१० घर परिवारले व्यवसायिक रुपमा बेमौसमी तरकारी समेत गरेका छन् । अर्का किसान ओमप्रकाश शर्माले टमाटर, लौका, काँक्रा, खुर्सानी लगायतका तरकारी लगाउनुभएको छ ।
२ वटा टनेल बनाएका शर्मा एक सिजनमा ३५ हजार भन्दा बढी आम्दानी हुने गरेको बताउनुहुन्छ ।

कृषक ‍ओमप्रकाश शर्मा

गाउँमा  ६ समूहमा ६० जना किसानले यस कार्यक्रममार्फत कृषि गरिरहेको कार्यक्रम संयोजक दुर्योधन वलीले बताउनुभयो । ५० बिगाहा जमिनमा व्यवसायिक तरकारी खेतीमा आवद्ध बनाउने र किसानहरुको आयआर्जनमा बृद्धि गर्न यो कार्यक्रम लागू गरिएको उहाँको भनाइ छ  ।

कार्यक्रमले तरकारीको बीउ, टनेल लगायतका आवश्यक सामग्रीहरु उपलब्ध गराएको  छ ।

त्यसका लागि ५० लाख बजेट आएको थियो, भने किसानहरुले २० प्रतिशत लगानी गरेको कार्यक्रम संयोजक वलीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया