‘दिनैपिच्छे एउटा अनलाइन चाहिने हो कि क्वालिटी चाहिने हो ?’

 असार २९, २०७७ सोमबार १९:२०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले अनलाइन सञ्चारमाध्यमको गुणस्तर मापनका लागि छलफल आवश्यक भएको बताउनुभएको छ । 

अहिले प्रतिदिन एउटा अनलाइन दर्ता हुने गरेको तथ्याङ्कले गुणस्तरभन्दा सङ्ख्या मात्रै वृद्धि हुने भन्दै खतिवडाले यस विषयमा छलफल आवश्यक रहेको बताउनुभएको हो । 

सूचना तथा प्रसारण विभागले प्रकाशन गरेको पुस्तक सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अर्थ मन्त्रीसमेत रहनुभएका खतिवडाले गुणस्तरीय विषयवस्तुका लागि छलफल आवश्यक रहेको बताउनुभएको हो । 

उहाँले भन्नुभयो, ‘एक दिनमा एउटा अनलाइन दर्ता हुने गरेछ । यसरी कसरी होला ? कति अनलाइन चाहिने हो हामीलाई ? दिनमा एउटा अनलाइन चाहिने हो कि क्वालिटीमा जाने हो ? विषयवस्तुको अलिकति गहिराइ र चौडाइमा जाने हो कि सङ्ख्यामात्रै बढाउने हो ? यसमा पनि छलफल गरेर अगाडि बढ्नुपर्छ ।’

खतिवडाले कोरोना सङ्क्रमणकाे कारण सञ्चारमाध्यमहरुमा परेको प्रभावको विषयमा अध्ययन भइरहेको र सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । बैंकबाट ऋण लिएर काम गरिरहेका मिडिया हाउसहरुलाई अन्य सेवा क्षेत्रले पाएको सुविधा पाउने व्यवस्था गरिने उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: असार ३१, २०७७

तपाईको प्रतिक्रिया