गोरखा संग्रहालयको भ्रमण गर्ने पर्यटक अहिलेसम्मकै उच्च

 साउन २०, २०७५ आइतबार ९:२२:५५ | किरण लोहनी
unn.prixa.net

गोरखा – ऐतिहासिक गोरखा संग्रहालयको भ्रमण गर्ने पर्यटकको संख्या अहिलेसम्मकै उच्च रहेको पाइएको छ । २०६५ सालमा खुल्ला गरिएको संग्रहालयमा गएको आर्थिक वर्ष २०७४/७५ मा अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटकले अवलोकन गरेका हुन् । 

गएको आर्थिक वर्षमा ७७ हजार ७ शय ५३ जनाले संग्रहालयको अवलोकन गरेका संग्रहालय प्रमुख नवराज अधिकारीले बताउनुभयो । अघिल्लो आर्थिक वर्षको तुलनामा ७ प्रतिशत बढीले संग्रहालयको अवलोकन गरेका उहाँले बताउनुभयो ।आर्थिक वर्ष २०७३/७४ मा ७२ हजार ६ शय ४८ जनाले गोरखा संग्रहालयको अवलोकन गरेका थिए ।

गएको वर्ष अवलोकन गर्नेमध्ये नेपाली विद्यार्थीको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको भए पनि विद्यार्थी बाहेक आन्तरिक पर्यटक,  सार्क राष्ट्र र अन्य देशका पर्यटकको संख्या भने बढेको उहाँको भनाइ छ । 

संग्रहालय भ्रमण गर्ने दर्शकको संख्या ७ प्रतिशतले बढ्दा आम्दानी भने १२ प्रतिशतले बढेको छ । संग्रहालय प्रवेश शुल्कबाट गएको आर्थिक वर्षमा १६ लाख ३२ हजार ६ शय ४५ रुपैयाँ राजस्व संकलन भएको अधिकारीले जानकारी दिनुभयो । यसअघि आर्थिक वर्ष ७३÷७४ मा भने १४ लाख ५७ हजार रुपैयाँ आम्दानी भएको थियो ।

तत्कालीन राजा राजेन्द्रबिक्रम शाहले छोरा सुरेन्द्रविक्रम शाहका लागि बनाइदिएको दरबारमै २०६५ सालदेखि संग्रहालय स्थापना गरिएको हो । परम्परागत नेपाली वास्तु शैलीबाट बनेको दरबार भएकाले यससम्बन्धी अध्ययन गर्न चाहनेका लागि पनि गोरखा संग्रहालय उत्कृष्ट गन्तव्यको बनेको छ ।

संग्रहालयमा ऐतिहासिक पक्ष झल्कने १२ वटा कक्ष रहेका छन् । गोरखा संग्रहालय रहेको दरबार ४ रोपनी क्षेत्रफलमा फैलिएको छ  भने संग्रहालय परिसरको क्षेत्रफल भने ६८ रोपनी रहेको छ ।

सार्वजनिक विदाबाहेक हरेक मंगलबार संग्रहालय बन्द हुने गरेको छ । जिल्लावासीले हप्ताको सातै दिन संग्रहालय खुल्ला गर्नुपर्ने माग गर्दै आएका छन् । यसबारे पुरातत्व विभागसँग छलफल भैरहेको संग्रहालय प्रमुख नवराज अधिकारीले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया