सडकमा सार्वजनिक गाडीको सङ्ख्या बढ्दै

 साउन ५, २०७७ सोमबार ९:१६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित मुख्य सहरमा आजदेखि थप सार्वजनिक गाडी चल्न थालेका छन् ।

 असार ३० गतेदेखि काठमाण्डौ उपत्यकासहित केही ठाउँमा थोरै सङ्ख्यामा सार्वजनिक गाडी चल्दै आएकोमा आजदेखि अरु पनि थपिएका हुन् । यसअघि साझा यातायातसहित सुन्दर यातायात, संयुक्त यातायातलगायतका केही कम्पनीले थोरै सङ्ख्यामा बस चलाउँदै आएका थिए । 

सरकारले ल्याएको मौद्रिक नीतिमा व्यवसायीका धेरैजसो माग सम्बोधन भएको भन्दै सार्वजनिक यातायात केन्द्रीय महासङ्घ पनि आजदेखि गाडी चलाउन सहमत भएको हो । सार्वजनिक यातायात केन्द्रीय महासङ्घका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालका अनुसार सरकारको निर्णयअनुसार अहिले जिल्लाभित्रै मात्रै गाडी चल्नेछन् । काठमाण्डौ उपत्यकामा तीन जिल्लामा गाडी चल्नेछन् । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बिस्तारै गाडीको संख्या थपिदै जाने बताउनुभयो ।

 तर, यातायात व्यवसायीको अर्को संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने आजदेखि सार्वजनिक गाडी चलाउनेबारे कुनै निर्णय नभएको जनाएको छ । महासङ्घले यातायात व्यवस्था विभागसँग नियमित वार्ता र छलफल भइरहे पनि अहिलेसम्म निर्णयमा नपुगेको जनाएको हो । सरकारले गएको असार २३ गते छोटो दूरीमा सार्वजनिक गाडी चल्न सक्ने निर्णय गरेको थियो ।

 सरकारको निर्णयपछि व्यवसायी र मजदुर सङ्गठनले यातायात विभागसँग छलफल गर्दै आएका महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना बीमा, चालक, सहचालक र यात्रुको स्वास्थ्य सुरक्षाका विषयमा छलफल भइरहेको छ । 

सार्वजनिक गाडीकै कारण कोरोना सङ्क्रमण थप नफैलियोस् भनेर तयारी गर्न नियमित छलफलमा जुटेको उहाँको दावी छ । कोभिड–१९ को सङ्क्रमण फैलिएको बेला विभागले गएको महिना निर्देशिका बनाए पनि त्यसमा स्वास्थ्यका विषय नसमेटिएको महासङ्घले बताउँदै आएको छ । कार्यविधिमा परिमार्जन नभएसम्म अहिले नै गाडी  सञ्चालन गर्ने वातावरण नबनेको सिटौलाको भनाइ छ । 

सरकारले काठमाण्डौ उपत्यकाभित्र एक जिल्ला तथा उपत्यका बाहिर एक जिल्ला भित्र सार्वजनिक गाडी चल्न सक्ने निर्णय गरेको हो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया