कोदोको रक्सीलाई 'ब्राण्ड' बनाइ विदेश निर्यात गर्ने व्यवस्था मिलाइयाेस् : प्रदेश सांसद राई

 साउन ६, २०७७ मंगलबार १८:३२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रदेश नम्बर १ की सांसद उषाकला राईले घरेलु कोदोको रक्सीलाई ब्राण्ड बनाइ विदेश निर्यात गर्ने व्यवस्था गर्न माग गर्नुभएको छ । 

स्थानीयस्तरमा उत्पादन हुने कोदोको रक्सीलाई प्रतिबन्ध (ब्याण्ड) नगरि ब्राण्डको रुपमा विकास गर्न प्रदेश सांसद राईले माग गर्नुभएको हो ।

मङ्गलबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी घरेलु उद्योगको रुपमा अर्ग्यानिक जडीबुटीयुक्त लोकल कोदोको रक्सी उत्पादन गरी महँगो मूल्यमा विदेश निर्यात गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको हो ।

विकसित देशहरुले आफ्नो देशमा उत्पादित रक्सीलाई ब्राण्ड बनाइ प्रवर्द्धन गर्ने तर नेपालको सरकारले ब्याण्ड गरेर नागरिकको सीपलाई दबाउने काम गरेको बताउनुभयो । उहाँले प्रदेश १ सरकारलाई कोदोको रक्सी उत्पादन गर्न ऐन ल्याउन सुझाव दिएको बताउँदै सरकारले विधेयक नल्याए आफूले गैरसरकारी विधेयक प्रदेश संसदमा दर्ता गराउने बताउनुभयो ।

नेपालमा कोदोको रक्सी, गाँजा र रातो चन्दनलाई ब्याण्ड गरिएको भन्दै त्यसलाई ऐनमार्फत नियमन गरी घरेलु उद्योगको रुपमा विकास गर्नुपर्ने राईले बताउनुभयो । अहिले नेपालमा दुई खर्ब बढीको विदेशी रक्सी आयात भइरहेको तर नेपालमै उत्पादन हुने रक्सीलाई माटोमा मिलाइएको भन्दै आवश्यक नियमन गरी गुणस्तरीय रक्सी उत्पादन गर्न प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । 

घरेलु उद्योगको रुपमा कोदोको रक्सी उत्पादन गरी हजारौँ युवा र महिलालाई स्वरोजगार बनाइ करोडौँ आम्दानी गर्न सक्ने बनाउन सरकारले ब्याण्ड नभइ ब्राण्ड गर्नतर्फ ध्यान दिनुपर्ने राईले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया