अबको एक हप्ता सलहको झुण्ड नेपाल आउने सम्भावना टर्‍याे

 साउन १३, २०७७ मंगलबार ९:२०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतको सीमावर्ती क्षेत्रमा रहेका सलहको झुण्ड अबको एक हप्ता नेपाल आउने सम्भावना टरेको सरकारले जनाएको छ ।

हावाको दिशा दक्षिण पश्चिमतर्फ भएकाले एक हप्ता सलह नेपाल आउने सम्भावना कम रहेको प्लान्ट क्वरेन्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईँले जानकारी दिनुभयो ।

हावाको गति र दिशा परिवर्तन भइरहने भएकाले अब आउँदैन भनेर ढुक्क भने हुन नहुने उहाँको भनाइ छ । नेपालमा असोजसम्म सलहको झुण्ड आउने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । तर त्यसपछि भने चिसो बढ्दै जाने भएकाले सलह नेपाल आए पनि लामो समय बाँच्न नसक्ने हुमागाईँको भनाइ छ । 

भारतको राजस्थानमा अझै ठूलो सङ्ख्यामा सलहको झुण्ड छ । ती झुण्ड नेपाल छिरे, धेरै नोक्सानी गर्न सक्ने उहाँले बताउनुभयो । यसैबीच नेपाल छिरेका सलह भने निस्क्रिय हुँदै गएका छन् । पाँच दिनयता कतै पनि नोक्सानी गरेको खबर नआएको हुमागाईँले बताउनुभयो ।

हावाको बहावसँगै मुस्ताङलगायत उच्च पहाडी क्षेत्रतिर पुगेका र मौसम प्रतिकूलताका कारण धेरैजसो मरेका छन् । बाँचेकाले पनि खानबस्न नै नसकेर निस्क्रिय भएका हुनसक्ने उहाँले बताउनुभयो । असार १३, १६, २८ र साउन १ गते सीमावर्ती विभिन्न जिल्लाबाट नेपाल प्रवेश गरेको सलहको झुण्ड ५४ वटा जिल्लामा पुगेको थियो । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया