भदौ १ देखि सुरु हुँदैछ उडान, यस्ता छन् विमानस्थल र जहाजमा बस्दाका नियम

 साउन १९, २०७७ सोमबार ९:१२:० | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणको लागि सरकारले गएको चैत ९ गतेदेखि आन्तरिक र बाह्य उडान बन्द गरेको छ । 

उद्धार र कार्गो उडान भइरहे पनि यात्रु बोकेर नियमित रुपमा जहाज उडेका छैनन् । तर आउँदो भदौ १ गतेदेखि भने सरकारले सुरक्षाका मापदण्ड अपनाएर आन्तरिक र बाह्य दुवै उडान खुलाउने निर्णय गरेको छ । कोरोनाको जोखिम रहे पनि उच्च सतर्कता अपनाएर उडान गर्ने तयारी छ  । 

यसको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना महामारीको बीचमा हुने उडानको लागि निर्देशिका बनाएको छ, विभिन्न जहाज कम्पनीले पनि मापदण्ड बनाएका छन् । उनीहरुले पूर्ण सतर्कताका साथ उडान हुने दाबी गरेका छन् ।

विमानस्थल, यात्रु र जहाजमा यस्ता हुनेछन् नियम

चैत ९ गतेदेखि बन्द रहेको आन्तरिक र वाह्य उडान भदौ १ गतेदेखि सुरु गर्न विमानस्थल र हवाई कम्पनी तम्तयार अवस्थामा छन् । कोरोनाबाट बच्दै र बचाउँदै उडान सुरु गर्न तयार रहेको उनीहरुको भनाइ छ । 

अहिले पनि विदेशीहरु नेपालबाट गइरहेको र उद्धार उडानमार्फत नेपाली आइरहेकाले विमानस्थलमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नै भएका छन् । भदौ १ गतेदेखि थप कडाइ हुनेछ । 

मास्क नलगाएका व्यक्तिलाई विमानस्थलको मूल गेटबाट नै प्रवेशमा रोक लगाइने छ । एक सय चार डिग्री फरेनहाइट ज्वरो भएका, रुखाखोकी र स्वाद र सुँघ्ने क्षमता कम भएका व्यक्तिलाई विमानस्थलभित्र प्रवेशमा रोक लगाइएको छ ।

७० वर्ष माथिका व्यक्ति, गम्भीर रोग लागेका र गर्भवतीलाई सकभर जहाज नचढ्न प्राधिकरणले आग्रह गरेको छ । हरेक यात्रुले सबै विवरणसहितको फारम भर्नु पर्नेछ । विमानस्थल परिसरमा एक मिटरको दूरी अनिवार्य कायम गर्नु पर्नेछ । विमानस्थलभित्रका एअरलाइन्सका काउन्टरमा सिसा लगाइएको छ । यात्रु उभिनको लागि रेखा नै कोरिएको छ । 

आगमन र प्रस्थान कक्षको बस्ने ठाउँमा एउटा कुर्सी खाली राखेर मात्रै बस्नुपर्नेछ । विमानस्थल र हवाई कम्पनीका कर्मचारीले मास्कको साथमा पञ्जा, भाइजर र पीपीई अनिवार्य रुपमा लगाउने छन् । ठाउँ-ठाउँमा स्यानिटाइजर राखिएको छ । प्रस्थान कक्षबाट जहाजसम्म यात्रु लैजाने बस हरेक पल्ट नि-सङ्क्रमण गर्नुपर्नेछ । जहाजलाई पनि उडान पिच्छे नि-सङ्क्रमण गराउनुपर्नेछ । जहाजमा पाइलट र विमान परिचालिकाले मास्क, भाइजर र पीपीई लगाउनेछन् ।

आन्तरिक जहाजभित्र खाना/खाजा निषेध गरिएको छ । कुकुर/बिरालो बोक्न पाइने छैन, समाचारपत्र पनि बोक्न पाइने छैन । स्वास्थ्य सुरक्षा सतर्कता नअपनाउने र जहाजका कर्मचारीसँग विवाद गरेमा यात्रुलाई तत्कालै कारबाही हुनेछ ।

‘हामीले पूर्ण सतर्कता अपनाएका छौँ, यात्रुले पनि ख्याल गरिदिनुपर्‍याे’

भदौ १ गतेदेखि उडान गर्नको लागि सबै एअरलाइन्सले पूर्वतयारी गरिरहेका छन् । विमानस्थलमा रहेका आफ्ना काउन्टरदेखि कर्मचारी र जहाज तयारी अवस्थामा रहेको उनीहरुको भनाइ छ । केही कम्पनीले उडान अभ्यास नै सम्पन्न गरिसकेका छन् । 

सरकारले भनेका सबै मापदण्ड तथा निर्देशिकाअनुसार उडान गर्न आफूहरु तयार रहेको तर कोरोनाबाट बच्न र बचाउन यात्रुको पनि उत्तिकै भूमिका हुने भएकाले सहयोग गरिदिन उनीहरुको आग्रह छ । 

‘हामी त  पूर्ण रुपमा तयार छौँ, प्राधिकरणले भनेका सबै मापदण्ड पूरा गरेका छौँ, तर हामीले गरेर मात्रै हुँदैन, आफूलाई शङ्का लागेका व्यक्ति जहाजमा गइदिन भएन, स्वःघोषणा गरिदिनुपर्छ, कोरोनाबाट आफू पनि बच्ने र अरुलाई पनि बचाउने भावना सबैमा हुनुपर्‍यो’ श्री एअरलाइन्सका प्रवर्धक अनिल मानन्धरले उज्यालो अनलाइनसँग भन्नुभयो । 

कोरोना सकिएपछि मात्रै जहाज उडाउँदा यो व्यवसाय नै टाट पल्टिने भएकाले अहिले कोरोनाबाट पनि बच्ने र व्यवसाय पनि बिस्तारै उठाउने उडान सुरु गर्ने तयारी भएको मानन्धरको भनाइ छ ।

आन्तरिकतर्फ दुई घण्टा र बाह्य उडानका यात्रु चार घण्टा पहिले विमानस्थल जानुपर्ने 

नियमित उडानको लागि विमानस्थल तयार रहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो ।  उहाँकाअनुसार कोरानाको रोकथामको  लागि गरिने क्रियाकलापका कारण विमानस्थल आधा क्षमतामा मात्रै चल्नेछ । 

‘कोरोनाबाट बच्ने गतिविधि अपनाउँदा पहिले जस्तो क्षमतामा विमानस्थल चल्दैन, थोरै क्षमतामा स्वास्थ्य सुरक्षाका पूर्ण मापदण्डसहित चलाउन हामी तयार छौँ’, विमानस्थलका महाप्रबन्धक केसीले भन्नुभयो । 

अब आन्तरिकतर्फका यात्रु दुई घण्टा पहिले र अन्तर्राष्ट्रिय उडानतर्फका यात्रु चार घण्टा पहिले नै विमानस्थल पुग्नुपर्नेछ । शङ्का लागेका व्यक्तिलाई तत्कालै विमानस्थलकै आइसोलेशन कक्षमा लगिनेछ । विमानस्थलमा हेल्थ डेस्क र एम्बुलेन्स तयारी अवस्थामा रहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताउनुभयो । 


 

अन्तिम अपडेट: चैत १, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

1 Comments

  • Tajul din miya

    Aug. 3, 2020, 5:38 p.m.

    विदेशवाट नेपाल आउँदा टिकटको भाउ कम्ति हुन्छ होला र ?? टिकटको भाउ सामान्य भएन भने हामी पीडित १७/१८ सय रियाल तिरेर आउन धेरै गाह्रो , कसरी आउन सकिएला ?? हामी पीडित भएकाहरुलाई कृपया टिकटको भाउ घटाउनु पर्यो , अनि नेपाली दुतावासमा अनलाइन फारम भर्नुपर्ने झन्झट हटाइदिनुपर्यो / ट्राभल एजेन्सीवाट टिकट काटेर सजिलैसंग आउने व्यवस्था मिलाइदिनु पर्यो / तजुल दिन मिया हाल साउदी अरब जुबेलवाट /

  •  0 Reply

तपाईको प्रतिक्रिया