उद्धार उडान नै रोक्नेसम्मको तयारी, पीसीआर रिपोर्ट नभएका छुट्टै जहाजमा फर्कनुपर्ने

 साउन २२, २०७७ बिहिबार १८:१८:४ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले उद्धार उडानसमेत रोक्ने गरी छलफल थालेको छ । देशभित्रै सङ्क्रमितको सङ्ख्या बढेको, समुदायस्तरमा कोरोना फैलन थालेको र विदेशबाट आउनेहरुमा पनि सङ्क्रमण पुष्टि हुने क्रम बढेपछि उद्धार उडान नै रोक्नेसम्मको छलफल भएको हो । 

बिहीबार बिहान गृह मन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, सम्बन्धित मन्त्रालयका सचिवलगायतको बैठकले अवस्था भयावह हुन थालेको निष्कर्ष निकाल्दै भदौ १ गतेदेखि हुने भनिएको नियमित उडानको बारेमा पुनर्विचार गर्ने र उद्धार उडानसमेत रोक्नेसम्मको छलफल गरेको हो ।

छलफलमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार हवाई उडानको लागि अहिले भएका मापदण्ड र निर्देशिका परिवर्तन गरेर कडाइ गर्ने तथा यसको उल्लङ्घन गर्नेलाई तत्कालै कडा कारबाही गर्ने छलफल भएको जानकारी दिनुभयो ।

‘स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, पर्यटन मन्त्रालय तथा नागरिक उड्डयन प्राधिकरणले बनाएका मापदण्ड र निर्देशिका नमान्नेलाई सङ्क्रामक रोग ऐन र स्थानीय प्रशासन ऐनले तोकेको अधिकतम कारबाही गर्नुपर्ने र हवाई उडानमा कोरोनाको जोखिम कम गर्न सबै जना सहमत हुनुभएको छ’, सहसचिव सुरेश आचार्यले भन्नुभयो । 

अहिलेसम्मको अवस्थालाई हेर्दा भदौ १ गतेदेखि दैनिक दुई/चार वटासम्म मात्रै भए पनि नियमित उडान गर्न सकिने तर अवस्था बिग्रिएमा यसलाई स्थगित गरिने उहाँले जानकारी दिनुभयो । 

‘अहिलेको अवस्था भयावह भएको विषयमा सबै मन्त्री र सचिवज्यूहरु सहमत हुनुभयो, अवस्था थप बिग्रिएमा भदौ १ गतेदेखि हुने भनिएको सेड्युल फ्लाइट र अहिले हुँदै आएको रेस्क्यु फ्लाइट पनि बन्द गर्नेसम्मको छलफल भएको छ, तर यसबारेमा भोलिको बैठकले थप टुङ्गो लगाउनेछ’, सहसचिव आचार्यले उज्यालोसँग भन्नुभयो । 

अवस्था भयावह भएमा पर्यटन मन्त्रालयको सुझाव या अनुमति नै नलिइकन मन्त्रिपरिषद् र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले उडान बन्द गर्ने निर्णय गर्न सक्ने पनि कुरा भएको उहाँले बताउनुभयो । 

विदेशबाट फर्कनेसँग पीसीआर रिपोर्ट अनिवार्य

अब विदेशबाट फर्कन चाहनेले अनिवार्य रुपमा पीसीआर नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने भएको छ । बिहीबार भएको छलफलले विदेशबाट फर्कनेहरुले पीसीआर रिपोर्ट पेस गर्नैपर्ने विषयमा सहमति जनाएको पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिनुभयो । तर पीसीआर परीक्षण नै नहुने र रिपोर्ट नै नदिने देशहरु पनि रहेकोबारे पनि छलफल भएको र त्यस्ता देशका नागरिक ल्याउँदा फरक तरिका अपनाइनेछ । 

‘पीसीआर जाँच नै नहुने र रिपोर्ट नै नदिने देशबाट नागरिक ल्याउँदा सम्बन्धित देशमा रहेको दूतावासले त्यस्ता नागरिकको विवरण सङ्कलन गर्नेछ र सहजीकरण गर्नेछ’, आचार्यले भन्नुभयो । 

यस्तै अब पीसीआर रिपोर्ट भएका र नभएकाहरुलाई एउटै जहाजमा नल्याउन पनि चार मन्त्रालय सहमत भएका छन् । पीसीआर रिपोर्ट नेगेटिभ भएकाहरुसँग रिपोर्ट नभएकाहरुलाई नराख्ने र रिपोर्ट नभएकाहरुलाई फरक जहाजमा ल्याउनुपर्नेमा गृह, परराष्ट्र, स्वास्थ्य र पर्यटन मन्त्री सहमत भएको र यसबारेमा मापदण्ड बनाइने पर्यटन मन्त्रालयका प्रवक्ता सुरेश आचार्यको भनाइ छ ।  

अन्तिम अपडेट: चैत २, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया