प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
कैलाली – लकडाउनको चार महिनामा धनगढीको त्रिनगर भन्सारबाट २१ करोडको तरकारी भित्रिएको छ ।
भन्सार कार्यालय कैलालीका सूचना अधिकारी डिल्लीप्रसाद शर्माले चार महिनाको अवधिमा २१ करोडको तरकारी आएको बताउनुभयो ।
‘आलु, प्याज, टमाटर र कागती मात्रै २१ करोडको भित्रिएको छ,’ सूचना अधिकारी शर्माले भन्नुभयो, ‘यो अवधिमा हरियो तरकारी भने आयात भएको छैन ।’
सुदूरपश्चिमका किसानले उत्पादन गरेको तरकारी बारीमा सुक्यो र सड्यो पनि । स्थानीय प्रशासन र पालिकाहरुको निर्देशनमा स्थानीय तरकारी संकलन केन्द्र तथा हाट बजार बन्द गरिए । तर, भारतबाट निर्वाध आएको तरकारी सिधै भान्सामा पुग्यो ।
लकडाउनमा भारतबाट तरकारीको धमाधम आयात भएकोमा स्थानीय उत्पादनलाई भने प्रहरी प्रशासनले नै कोरोनाको जोखिम बढ्ने भन्दै बजारसम्म पुर्याउन दिएनन् । किसानहरु बारीको तरकारी कुहिएको हेर्न बाध्य भए भने व्यापारीहरूले नेपाली किसानको उत्पादन किन्नुभन्दा भारतबाट आयात गर्नु सजिलो माने ।
त्यही कारणले लकडाउनमा पनि दैनिक १७ लाख ५० हजारको तरकारी त्रिनगर नाका हुँदै कैलाली भित्रिएको छ । लकडाउनमा पनि सामान्य समय जस्तै तरकारी आयात भएको भन्सार कार्यालयको ठहर छ । कोरोना भाईरसको जोखिम र नाका बन्द भए पनि भारतबाट तरकारीको आयात नरोकिएपछि चार महिनामै २१ करोडको तरकारी आयात भएको हो ।
लकडाउनमा सहरी क्षेत्रमा तरकारीको उपभोग करिब ५० प्रतिशतसम्म घटेको दावी गरिएको छ । यस्तो अवस्थामा सुदूरपश्चिममै उत्पादित तरकारीले उपभोक्ताको माग धान्नुपर्ने हो । तर, तरकारीको उपभोग घटे पनि आयात नघटेपछि मागको सबैजसो हिस्सा आयातित तरकारीले कब्जा गरेको अनुमान गरिएको छ ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।