जसपाद्वारा आन्तरिक समायोजन निर्देशिका पारित, अन्य पदाधिकारी चयनको बाटो खुल्यो

 साउन २५, २०७७ आइतबार २१:५९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको आन्तरिक समायोजन निर्देशिका पारित गरेको छ ।

बुधबारबाट सुरु भइ शनिबार सम्पन्न बैठकले पार्टी एकताको आन्तरिक समायोजन निर्देशिका पारित गरेको हो ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीको पहिलो केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको आन्तरिक समायोजनको निर्देशिका पारित गरेको केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले बताउनुभयो । निर्देशिकाले पार्टीको समायोजन कसरी गर्ने, समायोजनका आधार के हुने भन्ने विषयमा टुङ्गो लगाएको हो ।

निर्देशिका जारी भएपछि अब पार्टीका अन्य पदाधिकारी चयनको बाटो खुलेको छ । जसपाले तत्कालीन समाजवादी पार्टी र जसपाको क्रियाशिल सदस्यता र निर्वाचनमा प्राप्त गरेको समानुपातिक मतका आधारम समायोजन टुङ्गो लगाउने छ ।

जसपाको बैठकले पछिल्लो समयमा सरकारले परराष्ट्र नीति सुधार गर्नुपर्ने आवश्यकता औँल्याएको छ । भारतसँगको सम्बन्ध बिगार्ने गरी सरकारले काम गरिरहेको उल्लेख गर्दै झाले चीन र भारत दुवै देशसँग सरकारले सन्तुलित सम्बन्ध कायम गरेर अगाडि बढ्न बैठकले सुझाव दिएको बताउनुभयो ।

बैठकले कोरोना प्रभावित क्षेत्रमा सरकारलाई प्रभावकारी उपस्थिति जनाउन पनि आग्रह गरेको छ । कोरोना भाइरसका कारण नेपालको कृषि क्षेत्र, रोजगारीको क्षेत्र, शिक्षा क्षेत्रमा ठूलो क्षति पुगेको ठहर गर्दै बैठकले त्यसको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया