रसुवामा आजदेखि सार्वजनिक गाडी चलाउन नपाइने

 साउन २७, २०७७ मंगलबार ९:४५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवामा आजदेखि सार्वजनिक गाडी चलाउन नपाइने भएको छ । यसअघि जिल्लाभित्र मात्र सार्वजनिक यातायात सञ्चालन हुँदै आए पनि आजदेखि भने आन्तरिक रुपमा पनि सार्वजनिक गाडी चलाउन नपाइने भएको हो । 

जिल्लाभित्र सञ्चालन भएका सार्वजनिक गाडीले कोरोना संक्रमित जिल्लाबाट पनि यात्रु ल्याउने गरेको, न्यूनतम स्वास्थ्य सुरक्षाको पालना नगरेकाले रोक लगाइएको जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (डी सीसीएमसी) रसुवाले जनाएको छ । 

केन्द्रको हिजो बसेको बैठकले जिल्लामा रहेका सबै सरकारी, अर्धसरकारी, निजी तथा गैरसरकारी क्षेत्रका कार्यालयहरूले सेवा प्रवाह गर्दा हुनसक्ने भीडभाडलाई कम गर्न तोकिएको सम्पर्क व्यक्तिलाई फोन गरेर मात्र कार्यालय आउनुपर्ने नियम लागु भएको छ । 

जिल्लाभित्र रहेका मन्दिर, गुम्बा, चर्च आदिमा सामूहिक भेला हुन नदिने, सामूहिक भेला हुने खालका कुनै किसिमका मेला, जात्रा, पर्व, समारोह हुन नदिने र सबै प्रकारका भेला, सम्मेलन तथा जमघटका कार्यक्रम नगर्ने नगराउने पनि केन्द्रको बैठकले निर्णय गरेको छ । यसैबीच बालबालिका, जेष्ठ नागरिक, दीर्घरोगी र गर्भवती महिलाहरूलाई अत्यावश्यक नपरी घरबाहिर ननिस्कन र हिँडडुल नगर्न अनुरोध गरिएको छ । 

फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायतको कोरोना परीक्षणका  लागि आवश्यक व्यवस्था गरिने पनि निर्णयमा उल्लेख गरिएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया