पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो

 साउन ३१, २०७७ शनिबार १०:३२:६ | केसी लामिछाने
unn.prixa.net

पर्सा - पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । हिजो बेलुकी वीरगञ्ज महानगरपालिका मुर्लीका ६० वर्षका पुरुषको ज्यान गएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकले जनाएको छ । 

कोरोना संक्रमण पुष्टि भएपछि साउन २४ गते वीरगञ्ज महानगरपालिकाद्वारा सञ्चालित गण्डक कोभिड अस्पतालमा भर्ना भएका ती पुरुषमा उच्च-रक्तचाप, मधुमेह तथा प्यारालाइसिसको समस्या रहेको गण्डक कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो । 

योसँगै पर्सामा मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ । यसैबीच नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एक सय नाघेको छ । पर्सामा एक जनाको ज्यान गएसँगै  कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय १ पुगेको हो । 

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण ज्यान गुमाएका वीरगञ्ज महानगरपालिकाको मुर्लीका ६० वर्षका पुरुष र धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीय पुरुषको बारेमा जानकारी दिन बाँकी छ । 

अहिलेसम्म ४ लाख ९४ हजार ६ सय १३ को पीसीआर परीक्षण गर्दा २५ हजार ५ सय ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १९ हजार ७७ जना निको भएका र ७ हजार ३ सय ७५ जना आइसोलेशनमा छन् । १४ हजार ६ सय ३८ जना भने क्वरेण्टीनमा रहेका मन्त्रालयले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया