कोराेनाको मारमा पत्रकार पनि, मनोवैज्ञानिक र आर्थिक रुपमा गम्भीर असर

'पत्रकारको समस्या सहजीकरणका लागि सरकार पछि हट्दैन'

 भदौ ३, २०७७ बुधबार २१:३२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरसका कारण पत्रकारहरुलाई मनोवैज्ञानिक र आर्थिक रुपमा गम्भीर असर पारेको एक सर्वेक्षणले देखाएको छ ।

नेपाल प्रेस इन्स्टिच्युट र संयुक्त अधिराज्यकाे बर्नमोथ विश्वविद्यालयले संयुक्तरुपमा सञ्चालन गरेको राष्ट्रिय सर्वेक्षणले (कोभिड–१९) ले पत्रकारमा मानसिक असर पर्नुका साथै सञ्चार माध्यमका सामग्रीको उत्पादनसमेत घटेको देखाएको हो । 

गएको असार २६ देखि साउन ९ गतेसम्म देशका सात वटै प्रदेशबाट सबै खालका मिडियाको प्रतिनिधित्व हुने गरी एक हजार एक सय ३४ जना क्रियाशील पत्रकारका बीचमा सर्वेक्षण गरिएको थियो । 

सर्वेक्षणमा सहभागी ८३ प्रतिशत पत्रकारले जोखिमको अनुभूतिमा वृद्धि भएको, ७५ प्रतिशत पत्रकारले चिन्ता बढेको र ६२ प्रतिशत पत्रकारले आफूहरु दुःखमा परेको अनुभूति भएको प्रतिक्रिया दिएका छन् । २५ प्रतिशत पत्रकारले आफूहरु चरम निराशाबाट ग्रसित रहेको समेत उल्लेख गरेका छन् ।

त्यस्तै पत्रकारहरु चरम आर्थिक मारमा परेको सर्वेक्षणको नतिजाले देखाएको छ । सर्वेक्षणमा सहभागी ७४ प्रतिशत पत्रकार आर्थिक रुपमा प्रभावित भएका छन्, जसमध्ये ३८ प्रतिशतले आफूहरु पारिश्रमिक कटौतीमा परेको बताएका छन् ।

यस्तै महामारीले सबै खालमा समाचार प्रकाशन तथा प्रसारणलाई उल्लेखनीय प्रभाव पारेको छ । 

यो समयमा छापा माध्यमको पनि प्रकाशन आवृत्ति (फ्रिक्वेन्सी) तथा पृष्ठ दुवै घटेको पाइएको छ भने केही प्रकाशनहरु डिजिटल माध्यममा मात्र सीमित भएका छन् । 

छापा माध्यममा कार्यरत ५५ प्रतिशत उत्तरदाताले आफू कार्यरत छापा माध्यमको पृष्ठ घटेको बताएका छन् भने ४८ दशमलव ४ प्रतिशतले छापा माध्यमको प्रकाशनको समय (फ्रिक्वेन्सी) घटेको उल्लेख गरेका छन् । रेडियोमा कार्यरत ५१ दशमलव ८ प्रतिशत उत्तरदाता र टेलिभिजनमा कार्यरत ४२ दशमलव ८ प्रतिशत उत्तरदाताले प्रसारण सामग्रीको उत्पादन घटेको उल्लेख गरेका छन् ।  

निराश नहुन पत्रकारलाई मन्त्री खतिवडाको आग्रह  

सञ्चार तथा सूचना प्रविधि एवं अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले अग्रपङ्क्तिमा बसेर काम गर्ने पत्रकारका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रेस इन्स्टिच्युट नेपालले गरेको भर्चुअल कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले यो समस्या हामी सबैको साझा समस्या भएको भन्दै समाधानका लागि पनि सबै लाग्नुपर्ने बताउनुभयो ।

कोरोनामा पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी बढी जोखिममा रहेकाले सुरक्षामा ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

मन्त्री खतिवडाले भन्नुभयो, ‘दैनिक रिपोर्टिङमा खटिएर काम गरेपछि पारिश्रमिक दिनैपर्छ । यदि पारिश्रमिकमै पनि समस्या छ भने सरकारसँग समन्वय गरेर राहत कोषमा भएको पुँजी दिन्छौँ । पत्रकारको समस्या सहजीकरणका लागि सरकार पछि हट्दैन ।’

श्रमजीवी पत्रकारलाई पारिश्रमिकको समस्या आउने भनेर नै सामाजिक सुरक्षा कोष ल्याइएको भन्दै मन्त्री खतिवडाले निराश नभएर काम गर्न पत्रकारलाई आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया