महानगर बन्द गरेर भरतपुरकी मेयर सुटुक्क माइत !

 भदौ ४, २०७७ बिहिबार १५:३९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – कोरोना भाइरसको सङ्क्रमण बढेसँगै साउन ३० गते रातिदेखि भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरियो । महानगरभित्र कोरोना सङ्क्रमितको सङ्ख्या सय पुग्नै लाग्दा मेयर रेणु दाहालकै अग्रसरतामा निषेधाज्ञा जारी गरियो । उहाँले जारी गरेको विज्ञप्तिअनुसार नै महानगर अहिले सुनसान छ । 

भदौ २ गते महानगरले अर्को विज्ञप्ति जारी गर्‍याे, ‘हरितालिका तीजको शुभकामना’ व्यक्त गरेर । मेयर दाहालले नै निकालेको विज्ञप्तिमा ‘नगरवासीलाई घरघरमा बसेर मास्क, स्यानिटाइजरको प्रयोग गर्न, भौतिक दुरी कायम गरी तीज पर्व मनाउन विनम्र अनुरोध गर्दछु’ भनिएको छ ।  

महानगरको सूचनाका आधारमा नगरवासी आ–आफ्नै घरमा नै तीज मनाउने तयारीमा छन् । आक्कल–झुक्कल माइत हिँड्नेलाई प्रहरीले जरिबाना तिराउने गरेकाे छ । चितवन प्रहरीले सडकमा हिँड्नेबाट पाँच लाख रुपैयाँभन्दा बढी जरिबाना असुल गरिसकेकाे छ । 

तर मेयर दाहाल आफू भने सुटुक्क माइत पुग्नुभएको छ । नागरिकलाई घरमै बस्न उर्दी जारी गरेर आफू भने सुटुक्क माइत पुगेको भन्दै महानगरभित्र उहाँको आलोचना भइरहेको छ । उहाँ माइत पुगेर ‘तीज विशेष छोरीहरुको साथ’ भन्दै फेसबुकमा तस्बिर आफैले पोस्ट गरेपछि कमेन्टमा समेत आलोचना भएको छ । 

भरतपुर महानगरमा कोरोनाका बिरामी राख्ने ठाउँ छैन । सङ्क्रमण बढ्दो छ । एकातिर निषेधाज्ञाले नागरिक घरमै उकुसमुकुस छन् । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमितका लागि छुट्याइएको बेड भरिएर कहाँ राख्ने भन्ने पिरलो छ । महानगरमै बसेर समस्या समाधान गर्न पहल गर्नुपर्ने समयमा प्रमुख दाहाल तीजको रमाइलो मान्न माइत पुग्नुभएको छ र सामाजिक सञ्जालमा फोटो पोस्ट गर्नुभएको छ ।  

महानगरभित्र लगाइएको निषेधाज्ञाका कारण पैदल हिँड्ने समेत जरिबाना तिर्न बाध्य छन् । कोरोना सङ्क्रमण बढ्दै गएका कारण त्रास बढ्दै गएको छ । ४ गते काठमाण्डौ जानुभएको मेयर दाहाल ७ गते मात्र चितवन फर्कने कार्यक्रम छ । मेयर काठमाण्डौ पुगेको जानकारी दिँदै महानगरले उहाँको अनुपस्थितिमा पनि महत्त्वपूर्ण काम नरोकिने बताएको छ ।  

आफै कन्ट्याक्ट ट्रेसिङमा पर्नु भएकी दाहाल पीसीआर परीक्षण गरेर माइती (काठमाण्डौ) पुग्नुभएको हो । 

मेयर दाहालले बिहीबार दिउँसो फेसबुकमा पारिवारिक फोटो पोस्ट गरेपछि त्यसमा कमेन्ट गर्ने कतिपयले महानगरमा निषेधाज्ञा गरेर आफू अन्त हिँडेको भन्दै आलोचना गरेका छन् । 

सात वटा पालिका रहेको चितवनमा माडी नगरपालिका बाहेक छ वटा पालिकामा निषेधाज्ञा लागू गरिएको छ । भरतपुर महानगरपालिकाले अरु पाँच पालिकाभन्दा अगाडि नै महानगर क्षेत्रमा निषेधाज्ञा लगाएको थियो ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

5 Comments

  • Khem Raj Gurung

    Aug. 22, 2020, 10:09 a.m.

    मेयर पनि महिला नै हो , चाडपर्वमा माइतीघर जान उहाँलाई पनि त मन लाग्छ होला नि ...हाम्रो यो सोचाई नै गलत छ कि उहाँले माइत जानको लागि निषेधाज्ञा लागु गर्नु भएको हो भन्ने , यो त हाम्रो सुरक्षाको बिषय हो नि / आजको डिजिटल जमानामा भरतपुरको अफिसियल काम एक दुइ दिन काठमाण्डौ मै बसेर पनि गर्न सकिन्छ नि , मात्र आफ्नो काम प्रति लगाव हुनुपर्यो /

  •  0 Reply
  • सनिश

    Aug. 21, 2020, 5:52 a.m.

    जस्ले जे भने पनि तीज को शुभकामना ।

  •  0 Reply
  • Suresh

    Aug. 20, 2020, 5:24 p.m.

    थुइक्क ...तीजमा माइत जानलाइ महानगर बन्द गरेको तेरो विचार ......महानगरको मेयर काठमाडौं जाँदा माइत गएको हुन्छ ? माइत नै गएको भए नि उनको व्यक्तिगत जीवन छैन र ....

  •  0 Reply
  • समीर तिवारी प्रयासरत

    Aug. 20, 2020, 4:54 p.m.

    एउटा भराेसा गरेकाे मिडियामा यस्ताे स्तरकाे समाचार पढ्दा निकै नरमाईलाे लाग्याे ! समाचारको लागि मसला मात्र हो पत्रकारिता? कि केहि दाहित्व नि हुन्छ । को काहा गयो के लगायो भन्दा नि कति बिकास गर्यो के के कदम चाल्यो सोच्न जरुरी छ । उनले अाफु काठमाण्डाै जानकै लागि महानगर सिल गरेकि हुन त ? एउटा महानगरकाे प्रमुख काठमाण्डाै तिज मनाउन मात्रै अाउछ ? उनकाे अाफ्नाे व्यात्तिगत जीवन छैन ? छि छि

  •  0 Reply
  • विपना सापकोटा

    Aug. 20, 2020, 4:54 p.m.

    तिज vIP लाई मात्र आको हैन अनि lockdown हामी जस्ता सर्वसाधारणलाई मात्र होइन होला कि कोरोनाले पनि ठुलाबडालाई छुदिन भन्यो र??? उनी चाहिँ lockdown को अवज्ञा गर्दै माइत जान पर्नी अनि सर्वसाधारण चाहिँ माइती सम्झदै बस्नु पर्ने ??? सानालाई ऐन ठुलालाई चैन भन्नी यहि हो हजुर ।

  •  0 Reply

तपाईको प्रतिक्रिया