घर अगाडिको बाटोमा बाघ भालु छन् भन्ने सोचौँ

 भदौ ९, २०७७ मंगलबार १३:४५:२३ | सुमन दाहाल
unn.prixa.net

काठमाण्डौ - पछिल्ला दिनहरुमा काठमाण्डौ उपत्यकालगायतका विभिन्न जिल्ला तथा पालिकाहरुमा  निषेधाज्ञाका आदेश जारी भएका छन् । यस निषेधाज्ञालाई दोश्रो लकडाउन, लकडाउन दुई वा पहिलोको राष्ट्रव्यापीभन्दा कम क्षमताको जिल्ला तहमा मात्र भएको आँकलन गरेको देख्छु । 

तर मेरो विचारमा यो निषेधाज्ञा पहिलो चरणकोभन्दा अझ गहन, गम्भीर र विषम अवस्थामा लगाइएको निषेध हो । पहिलो लकडाउन जनरल बेडमा राखी गरिएको उपचार थियो भने यो गहन उपचार कक्षमा राखी गरिएको उपचार हो भन्ने बुझ्नु जरुरी छ ।

पहिलो चरणको लकडाउनका समयमा, कोरोनाको कहर आउनु अगाडिको अवस्था थियो भने अहिलेको अवस्था भनेको कोरोना हाम्रो वरिपरि घुमिरहेको अवस्था हो । झापाको बाहुनडाँगीमा जंगली हात्तीले तहसनहस बनाउँदा हामी चन्द्रगढीका बासिन्दाहरु पनि डराएर त्यसको समाधानका बारेमा कुरा गर्थाैँ । 

तर हिजोआज चन्द्रगढीमै ती जंगली हात्तीहरु आउन थालेका छन । बाहुनडाँगीसम्म हात्ती आउँदा हामीले गरेको रोकथामका उपायलाई पहिलो चरणको लकडाउन र हाल चन्द्रगढीमै हात्ती आउँदा हामीले अपनाएका उपायहरुलाई दोश्रो चरणको लकडाउनसँग तुलना गर्न उपयुक्त हुन्छ जस्तो लाग्छ । 

बाहुनडाँगीसम्म हात्ती आउँदा हामी बाहिर निस्किएर सीडीओ कार्यालय र वन कार्यालयमा गएर हात्ती रोक्न पहल गरेका थियौं । तर आजको समयमा घरबाट निस्किनु भनेको ज्यानको जोखिम मोल्नु जत्तिकै भएको छ । हो, त्यस्तै अवस्था हो यो अहिलेको निषेधाज्ञा । 

भन्सार व्यवस्थापनमा प्रभाव

वैदेशिक व्यापारमा कोरोनाको प्रभाव परेको छ । एकातर्फ कोरोनाका कारण आर्थिक गतिविधिहरु घटेका छन् भने अर्कोतर्फ उपभोगमा पनि कमी आएको छ । साथै व्यापार व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि खटिएका भन्सार बिन्दुमा कार्यरत भन्सारकर्मीहरुलाई पनि कोरोनाको सङ्क्रमण देखिन थालेको छ । 

विराटनगर, जलेश्वर, कृष्णनगर, नेपालगञ्जलगायत ठाउँमा सङ्क्रमण देखिएको छ । भन्सार अत्यावश्यक सेवामा पर्दछ र यसलाई पूर्ण बन्द गर्न मिल्दैन । अत्यन्त भयावह स्थितिमा पनि दैनिक उपभोग्य एवं अत्यावश्यक मालवस्तुहरु, औषधिजन्य वस्तुहरुको पैठारीका लागि पनि भन्सार नियमित सञ्चालन गर्नुपर्ने जोखिमपूर्ण अवस्थामा भन्सार प्रशासन छ ।  

पहिलो चरणको लकडाउनमा कोरोना यसरी व्याप्त भइसकेको थिएन । कोरोना थिएन, तर कोरोनाको डर र त्रास व्याप्त थियो । कोरोनालाई यति नजिकबाट चिनिएको पनि थिएन । नचिनेपछि झन धेरै डर हुने रहेछ । तर अब हामीले कोरोनालाइ चिन्यौँ । डर र त्रास पनि कम भयो । तर कोरोना झन् बढदै गयो । डर घटेपछि सजगता घट्ने रहेछ । सजगता घट्नु भनेको अलिकति हेलचेक्य्राइँ पनि बढ्ने रहेछ । 

सजगता घट्नु र हेलचेक्य्राइँ बढ्नु भनेको कोरोनाका लागि युरिया मल हाले जस्तो हुने रहेछ । जसले गर्दा दैनिक नै कोरोनाले आफ्नो रुप र आकार बढाउँदै लगेको छ । सुरुको दिनमा वीरगञ्जमा एउटा सङ्क्रमित देखिँदा काठमाण्डौमा जति मन डराएको थियो, आज दैनिक दुईका दरले काठमाण्डौमै संक्रमण हुँदा पनि मन डराएको छैन । तर, डर आवश्यक छ । डर नभएको मानिस काम लाग्दैन भन्ने उखानै छ । डरले सजगता निम्त्याउँछ, जसले स्वास्थ्यलाई कम जोखिममा पार्दछ । 

आजको दिनमा नेपालतिरका सिमानाका जिल्लाहरुमा निषेधाज्ञाका कारण दैनिक जनजीवनमा अवरोध आएको छ । तर सीमावर्ती भारतीय जिल्लाहरुमा यो अवस्था छैन अर्थात उता लकडाउन छैन । पहिलो लकडाउनका अवधिमा दुवैतर्फ लकडाउन रहेका कारण व्यापार व्यवसायमा एउटै वातावरण थियो, तर अहिले फरक अवस्था छ । जसले गर्दा भारतीय भन्सारहरुमा मालबाहक गाडीको लामो लाइन भइरहेको अवस्था छ भने नेपालतिर निषेधाज्ञाका कारण भन्सारबाट जाँच भएका मालबाहक गाडी बाटोमा रोकिन थालेका छन् । 

पहिलो लकडाउनका अवधिमा सरकारले भन्सारबाट छुटेका मालबाहक गाडीलाई गन्तव्यसम्म पुग्न र फर्कन अवरोध नगर्न आदेश जारी गरेको थियो, तर अहिले त्यो आदेश जारी गरिसकेको छैन । निश्चित उद्योगधन्दा तथा आर्थिक कारोबारहरु स्वास्थ्यका सुरक्षित उपायहरु अपनाएर सावधानीपूर्वक सञ्चालन गर्न छुट दिइएको थियो, जुन अहिले स्पष्ट छैन । यसकारण पनि पहिलेको लकडाउनभन्दा अहिलेको निषेधाज्ञा भन्सार व्यवस्थापनका दृष्टिकोणले पनि अझ कडा र गम्भीर अवस्था हो । 

व्यापार र राजश्वका कुरा  

विगत वर्षहरुमा सामान्यतया वार्षिक २० प्रतिशतको हाराहारीमा वैदेशिक व्यापार वृद्धि हुने र त्यसै अनुपातमा राजश्व वृद्धि हुने प्रवृत्ति थियो । तर गत वर्षको व्यापारको अवस्था त्यस्तो रहेन । २०७५/७६ हैन कि, ०७४/७५ कै तुलनामा पनि १६  प्रतिशत कम वैदेशिक व्यापार भयो । गत वर्ष २०७६/७७ मा त्यसै अनुसार नै  राजश्व संकलनमा पनि कमी आयो । आयातमुखी भएकोले भन्सार राजश्व कम संकलन हुनु स्वभाविक नै हो । 

यो वर्षको साउन महिनामा पनि आयातको परिमाण गएकाे वर्षको साउनको आयातको तुलनामा झण्डै २० प्रतिशतले कमी आयो र राजश्व पनि १७ प्रतिशतले कम संकलन भयो । गत वर्षको साउनमा २८ अर्ब जति राजश्व संकलन भएको थियो र त्यसमा औसत २० प्रतिशत वृद्धि भएको थियो भने यो साउनमा झण्डै ३४ अर्ब संकलन हुने थियो । 

तर करिब २३ अर्ब मात्र संकलन हुन सक्यो । हुन त कोरोनाको गहिरो प्रभाव हाम्रो अर्थतन्त्रमा पर्ने निश्चित भएकै कारण यस वर्ष हामीले गत वर्षको तुलनामा राजश्व संकलनको अनुमान पनि घटाएका छौं । तर पनि गत वर्षको साउनको तुलनामा यो साउनमा संकलन भएको यो ११ अर्बको राजश्व कमीलाई अर्थतन्त्रमा कोरोनाको प्रभाव मान्ने हो भने हाम्रो जस्तो सानो अर्थतन्त्रका लागि यो ज्यादै ठूलो असर हो । 

अन्त्यमा,

मानव जीवन अमूल्य र महत्वपूर्ण छ । कुनै पनि प्रजातन्त्रमा नागरिकको जीवन रक्षा राज्यको पहिलो प्राथमिकता र कर्तव्य हुन आउँछ । तसर्थ, राजश्व र व्यापारको वृद्धिलाई दोश्रो प्राथमिकतामा राखी हाललाई हामी आफू बचौँ र बचाऔँ, स्वास्थ्य पहिलो प्राथमिकतामा राखौं । आफ्नो स्वास्थ्यमा हेलचेक्य्राइँ नगरौँ ।

आफ्नो सानो हेलचेक्राइँले अर्कोको स्वास्थ्यमा पनि हानी पुर्याउँछ । तसर्थ, घर अगाडिका बाटोहरुमा जंगली बाघभालुहरु छोडिएका छन भन्ने जस्तो सोचौं । अत्यावश्यक नपरी घरबाहिर ननिस्कौँ । निस्कनै पर्दा मास्क अनिवार्य लगाऔँ । 

(दाहाल भन्सार विभागका महानिर्देशक हुनुहुन्छ)

अन्तिम अपडेट: मंसिर ४, २०७७

सुमन दाहाल

दाहाल भन्सार विभागका महानिर्देशक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया