कोरोनाले अबकाे केही हप्ता तथा महिना नेपालमा खराब अवस्था निम्त्याउँछ : विश्व स्वास्थ्य सङ्गठन

 भदौ ९, २०७७ मंगलबार १७:४०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा अबको केही हप्ता तथा केही महिना कोरोना सङ्क्रमितको सङ्ख्या निकै बढ्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । डब्लूएचओका नेपाल प्रतिनिधि डा. जोस भ्यान्डलियरले अहिले कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको तर यो सुरुवात मात्रै रहेको भन्दै अबको केही हप्ता तथा महिनापछि अवस्था निकै खराब हुने चेतावनी दिनुभयो ।

यसअघि नेपालमा विदेशबाट फर्किएकामा मात्रै सङ्क्रमण देखिएकोमा अहिले समुदायस्तरमा पनि सङ्क्रमण देखिन थाल्नु समुदायमा सङ्क्रमण व्यापक हुने सुरुवाती लक्षण भएको उहाँको भनाइ । अहिले ज्यान गुमाउनेको सङ्ख्या पनि बढ्न थालेको र यसको कारण पाको उमेरका व्यक्तिलाई पनि कोरोना सङ्क्रमण हुन थालेको भन्दै उहाँले पाको उमेर तथा जोखिम वर्गका मानिसमा कोरोना सङ्क्रमण रोक्न नसके अझै धेरैको ज्यान जाने स्पष्ट पार्नुभयो ।

तर कोरोना भाइरसका सङ्क्रमित धेरै देखिए पनि आत्तिनु परिहाल्ने अवस्था भने नरहेको डब्लूएचओका नेपाल प्रतिनिधि डा. भ्यान्डलियरले बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्गमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमसँग कुरा गर्दै उहाँले कुल जनसङ्ख्याको एकदेखि दुई प्रतिशतमा मात्र कोरोना सङ्क्रमण भएकाे र सङ्क्रमण भएकामध्ये पनि धेरैमा सामान्य लक्षणमात्र देखिने भएकोले यो घातक नहुने जानकारी दिनुभयो । उहाँले टोल छिमेकमा सङ्क्रमण देख्दैमा आत्तिनु नपर्नेमा पनि जोड दिनुभयो । 

नेपालमा कोरोना महामारी नियन्त्रणका तीन मुख्य चुनौती 

डा. जोस भ्यान्डलियरले कोरोना महामारी नियन्त्रणका लागि नेपालमा तीन मुख्य चुनौती रहेको बताउनुभयो । उहाँले सङ्घीय संरचना, स्वास्थ्य सेवा र मानिसको व्यवहारका कारण कोरोना महामारी नियन्त्रणमा चुनौती रहेको बताउनुभयो । 

नेपालमा अहिले सङ्घीयता कार्यान्वयनमा छ । यहाँ विभिन्न तहका सरकार छन् । यी सरकारबीच समन्वय महत्त्वपूर्ण हुन्छ । महामारीमा केन्द्रीय सरकारले मात्र भूमिका खेल्न सक्दैन । पालिकाले सङ्क्रमित पहिचान तथा उनीहरुको सम्बन्ध केलाएर कन्ट्याक्ट ट्रेसिङको काम प्रभावकारी रुपमा गर्नुपर्छ । यहाँ सबै तहका सरकारबीच कामको बाँडफाँड र नजिकको समन्वय हुनुपर्छ । यो गर्न सकिएमा महामारी नियन्त्रणमा सजिलो हुन्छ तर समन्वयमा समस्या आयो भने सङ्क्रमणको समस्या पनि थपिन सक्छ । 

दोस्राे महत्त्वपूर्ण कुरा स्वास्थ्य सेवासँग सम्बन्धित छ । यो पहुँचयोग्य, सर्वसुलभ, उच्च गुणस्तर र वर्षभरि नै उपलब्ध हुनुपर्छ । नेपालको स्वास्थ्य सेवा थप सर्वसुलभ बनाउनुपर्छ भने गुणस्तर सुधार हुनुपर्छ । कोरोना महामारी नियन्त्रणका लागि पर्याप्त स्वास्थ्यकर्मी र अस्पताल छन् कि छैनन् त्यो महत्त्वपूर्ण हुन्छ । यसको तयारी गर्नुपर्छ ।

यस्तै सरकारले अहिले कोरोना महामारी नियन्त्रणमा लगानी गरिरहेको छ । यो बेलामा गर्भवती सेवा, सुत्केरी सेवा, खोप, दीर्घ रोग सेवा, पाको उमेरका मानिसलाई दिने स्वास्थ्य सेवालगायतका सेवा प्रभावित हुन हुँदैन । यी सबैलाई सर्वसुलभ र पहुँचयोग्य बनाइरहनुपर्छ । 

डा. जोस भ्यान्डलियरले तेस्राे चुनौती मानिसको व्यवहारलाई मान्नुभएको छ । कोरोनाबाट बच्नको लागि मास्क लगाउने, दुरी कायम गर्ने, हात धुने जस्ता व्यवहार लामो समयसम्म प्रयोगमा आउनुपर्छ । तर मानिसहरु सजिलै यस्तो व्यवहार परिवर्तन गर्दैनन् ।

मानिसलाई धुम्रपानले असर गर्छ भन्ने थाहा छ त्यही पनि चुरोट, बिँडी खान छाड्दैनन्। त्यस्तै कोरोनाबाट बच्न के गर्नुपर्छ भन्ने कुरा धेरैलाई थाहा भइसकेको छ तर प्रयोगमा ल्याउँदैनन् । 'मानिसलाई कोरोनाबाट बच्ने स्वास्थ्यका मापदण्ड पालना गराउन मुस्किल छ । तर जसरी भए पनि यो कुरा गर्नैपर्छ', उहाँले भन्नुभयाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया