नेभिगेशन
मंगलबार, असोज ६, २०८३

राष्ट्रिय सभामा वामदेव गौतम कि युवराज खतिवडा ?

काठमाण्डौ - सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभाका रिक्त एक सिटमा अर्थमन्त्री डा. युवराज खतिवडालाई निरन्तरता दिने कि पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने भन्नेमा सत्तारुढ नेकपाभित्र मतभेद बढेको छ । 

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पहिलेदेखि नै खतिवडालाई निरन्तरता दिने पक्षमा हुनुहुन्छ । तर गौतमले समेत राष्ट्रिय सभामा जाने चाहना व्यक्त गरेपछि ओली अप्ठ्यारोमा पर्नुभएको छ । पार्टीभित्रबाट आफ्नो राजीनामाको दबाब बढेको बेला साथ दिएका गौतमलाई मनाउँदै खतिवडालाई नै निरन्तरता दिने ओलीको चाहना रहे पनि प्रचण्डसहित पार्टी सचिवालयका बहुमत सदस्य यसको विपक्षमा छन् । 

यसै विषयमा बुधबार ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । छलफलमा ओलीले नेता गौतमलाई आफूले मनाउन सक्ने र खतिवडालाई नै निरन्तरता दिने प्रस्ताव गर्नुभएको थियो । तर प्रचण्डले गौतमलाई राष्ट्रिय सभामा पठाउने पार्टी सचिवालय बैठकको यसअघिको निर्णय लागू हुनुपर्ने बताउनुभएको छ । दुई अध्यक्षबीच कुरा नमिलेपछि बिहीबार बस्ने पार्टी सचिवालय बैठकमा यसबारे छलफल हुने भएको छ ।

अर्थमन्त्री खतिवडाको म्याद आउँदो आइतबार २१ गते सकिँदैछ । सांसद नभए पनि ६ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय सभा सदस्यको पदावधि सकिइसकेका खतिवडाले गएको फागुनमा अर्थमन्त्रीको शपथ लिनुभएको थियो । उहाँलाई नै निरन्तरता दिने हो भने शनिबारसम्म राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेर राष्ट्रपतिले मनोनित गरिसक्नुपर्ने हुन्छ । 

नेकपाको फागुन १४ गतेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो । यो निर्णयको विरुद्धमा जनस्तरबाटै चर्को आलोचना भएपछि गौतम मौन बस्नुभएको थियो । तर अर्थमन्त्रीको रुपमा खतिवडाको म्याद सकिनै लाग्दा गौतमले पार्टी सचिवालयको निर्णय कार्यान्वयन हुनुपर्ने अडान राख्नुभएको छ । उहाँलाई अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेलको साथ छ ।

ओलीसहित सचिवालय सदस्य ईश्वर पोखरेल र रामबहादुर थापा भने खतिवडालाई निरन्तरता दिने पक्षमा छन् । सचिवालयका बहुमत सदस्य गौतमको पक्षमा रहेका र आफूलाई संकट परेको बेला गौतमले साथ दिएका कारण ओलीलाई खतिवडाको पक्षमा निर्णय गर्न अप्ठ्यारो भएको छ । यसबीचमा उहाँले गौतमलाई मनाउने प्रयास गरिरहनुभएको छ । तर गौतम पछाडि हट्ने मनस्थितिमा नभएपछि दुवैलाई राष्ट्रिय सभामा पठाउने विकल्पबारे पनि ओलीले छलफल थाल्नुभएको बालुवाटार स्रोतले जनाएको छ ।

राष्ट्रिय सभाका कुनै सदस्यलाई राजीनामा गराएर उपाध्यक्ष गौतमलाई पनि पठाउन सकिने विकल्पबारे ओलीले छलफल थाल्नुभएको हो । तर यो विकल्पमा अरु नेताहरुले सहमति जनाइसकेका छैनन् । 

प्रकाशित मिति:
थप राजनीति