चौरजहारी अस्पतालमा बिरामीको बिजोग

 साउन २३, २०७५ बुधबार १८:१:५७ | राजु लामिछाने

रुकुम पश्चिम – गएको आइतबार अस्पतालमा उपचाररत बिरामीको ज्यान गएपछि चौरजहारी अस्पतालमा सेवा प्रभावित भएको छ ।

डाक्टरको लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै मृतकका आफन्त तोडफोडमा उत्रिएपछि अस्पतालमा तनाव उत्पन्न भएको हो । अस्पतालको सेवा प्रभावित भएपछि अस्पताल भर्ना भएका बिरामीहरुको अवस्था नाजुक बन्दै गएको छ ।

भर्ना भएका दुई दर्जन बिरामी मध्ये अहिले १० जना मात्रै बिरामी वार्डमा रहेका छन् । उनीहरुलाई नियमित औषधि बाहेक चेकजाँच गरिएको छैन । आइतबार मृत्यु भएकी जाजरकोट भेरी नगरपालिका–१३, कुदुकी यसोधा मल्ल रोकायको शव चार दिनसम्म पनि आफन्तले बुझ्न मानेका छैनन् ।

अस्पतालको बेडमा भर्ना भएका बिरामीहरु उपचार अभावमा छटपटाई रहेका छन् । नयाँ बिरामीहरु भर्ना गर्न अस्पतालले मानेको छैन । मृतकका आफन्त र प्रहरीबीच भएको पटक–पटकको झडपबाट त्रसित बिरामीहरु अस्पतालमा बस्न सक्ने अवस्था नभएको बताउछन् । तर उनीहरु आर्थिक अभावको कारण उपचारकै लागि बाहिर जान सक्ने अवस्थामा छैनन् । 

मृतकका आफन्तले आइतबार र सोमबार अस्पतालमा तोडफोड गरेका थिए । डाक्टरको लापरबाहीका कारण यसोधाको मृत्यु भएको भन्दै मृतकका आफन्तले तोडफोड गरेपछि आइतबारदेखि अस्पतालमा उपचार सेवा बन्द छ ।

आफन्त र अस्पताल प्रशासनका बीचमा तीन पटक भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि मृतकका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । यसोधाको शव आइतबारदेखि अस्पतालको आईसीयूमा राखिएको छ ।

आइतबारदेखि अस्पतालबाट कुनै पनि प्रकारका सेवा प्रवाह हुन सकेका छैनन् । दैनिक सयांैको संख्यामा उपचारको लागि आउने रुकुम, सल्यान, जाजरकोट र डोल्पा समेतका बिरामीहरु उपचार सेवाबाट बञ्चित रहेका छन् । कतिपय स्थानीय मेडिकलमै उपचार गराइरहेका छन् भने कतिपय उपचारकै लागि नेपालगञ्ज जान बाध्य भएका छन् । 

तोडफोडबाट अस्पतालमा ठूलो क्षति पुगेका कारण सेवा प्रवाह गर्ने अवस्था नरहेको अस्पतालको भनाई छ । अस्पतालले सेवा नदिएपछि उपचारका लागि आउने बिरामीहरु निराश भएर फर्कने गरेका छन् । 

अस्पतालका डाक्टर कालेब बुढाका अनुसार चार दिनमा जटिल समस्या भएर आएका चार जनालाई नेपालगञ्ज रिफर गरिएको छ । उहाँका अनुसार एपेन्डिसाइट्सको समस्या भएर आएका चौरजहारी नगरपालिका–९, कोटजहारीका खीमबहादुर पुन, प्रसुतिका लागि आएकी चौरजहारी नगरपालिका एक नाखिराकी बबिता बिक, दमको समस्या भएर आएका चौरजहारी नगरपालिका १ का शेरबहादुर सुनार र सर्प दंसको उपचारका लागि आएकी चौरजहारी नगरपालिका–१, कै सुष्मा बिष्टलाई नेपालगञ्ज रिफर गरिएको छ ।

वार्ता निष्कर्षविहीन

मृतक यसोधाका आफन्तहरुले उनका बालबच्चाको पढाई, पालन पोषण र क्षतिपूर्तिकोमा राखेका छन् । आफ्ना माग पूरा नभए आन्दोलन गरी राख्ने र शव नबुझ्ने उनीहरुको दाबी छ ।

अस्पतालले भने घटनाको छानबिन गरी दोषि देखिए मात्र क्षतिपूर्ति दिन सकिने बताएको छ । बुधबारसम्म तीन पटक भएको वार्ता आ–आफ्नै अडानका कारण बिना निष्कर्ष टुंगिएका छन् ।

अस्पतालमा ३५ लाखको क्षति

आक्रोशित मृतकका आफन्तहरुले अस्पतालमा गरेको तोडफोडको कारण ३५ लाख बराबरको क्षेति भएको अस्पतालले जनाएको छ ।

अस्पताल प्रशासक डिलबहादुर गिरिका अनुसार आइतबार र सोमबार मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्दा अस्पतालमा रहेको औषधिसहित अन्य विभिन्न भौतिक संरक्षणमा क्षति पुगेको थियो ।

सबै गरेर ३५ लाख रुपैयाँ बराबरको क्षति भएको रिपोर्ट अस्पतालले तयार पारेको छ । तोडफोडबाट अस्पतालमा रहेको महँगो औषधि, झ्याल, ढोका, विभिन्न कक्षमा रहेका कुर्सी, टेबलसहित अन्य महँगा संरचनामा क्षति पुगेको बताइएको छ । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया