'लकडाउन र निषेधाज्ञा मात्र गर्दा मानिस खान नपाएर मर्न सक्छन्'

 भदौ २४, २०७७ बुधबार १०:६:१८ | विमल कोइराला
unn.prixa.net

काठमाण्डाै – लकडाउन र निषेधाज्ञा गरेर मात्र कोरोनाको सङ्क्रमण रोक्न सकिंदैन । अहिलेसम्मको अनुभवले त्यही भन्छ ।

पटकपटक लकडाउन र निषेधाज्ञा लगाएको ५ महिना भयो । विभिन्न नाम दिएर नागरिकलाई थुन्न खोजियो । नागरिकले पनि सरकारको निर्देशन पालना गर्दै आए । तर जतिजति लकडाउन गरियो, उतिउति सङ्क्रमण बढेको देखियो ।

लकडाउन र निषेधाज्ञा गरेर मात्रै सङ्क्रमण नियन्त्रण नहुनुमा अरु केही त्रुटी छ भनेर बुझ्नु पर्छ । लकडाउन नै  अन्तिम समाधान होइन  भन्ने अहिलेसम्मको अनुभवले बताइसक्यो ।  मानिसको जीवन कष्टकर बनाउनु हुँदैन भन्ने निश्कर्षमा विश्व पुगेको छ । त्यो हामीले पनि पालना गर्नुपर्ने अवस्था छ ।  अब कोरोनाको कारण जनजीवन अस्तव्यस्त भयो भने आर्थिक सामाजिक कारणले पनि जीवन ध्वस्त हुने सम्भावना छ । त्यसैले लकडाउनको विकल्प खोजेर यसलाई स्वस्थ विधिबाट नागरिकको आर्थिक सामाजिक जीवन पनि चल्ने, साँस्कृतिक जीवन परिचालनको उपाय खोजिनुपर्छ ।  

सामाजिक दूरी कायम गर्ने, हात धुने, सार्वजनिक गाडीमा पनि आवश्यक मापदण्ड अपनाउने  विषयमा अब नागरिकलाई सचेत बनाउनुपर्छ । उनीहरुको जीवन चल्न दिनुपर्छ ।  नत्र अर्को संकट आउँछ ।  मान्छेको रोजगारी खोसिएकोले लकडाउन र निषेधाज्ञा मात्र गर्दा मानिस खान नपाएर मर्न सक्छन् । उनीहरुको जीवन सहज बनाउन पनि जनजीवन सञ्चालन गर्न आवश्यक छ ।

 

कोरोनालाई लाग्न नदिने गरी कोरोनासँगै बाँच्न सिकाउने पद्दतिमा सरकार जानुपर्छ । सरकारले निषेधाज्ञा गर्दा सीमान्तकृत र गरिब नागरिकका लागि वैकल्पिक व्यवस्था हुन सकेन । त्यसैले अब फेरि नागरिकलाई आर्थिक क्रियाकलापमा जोड्न आवश्यक छ ।  

स्वयम् नागरिक पनि सचेत हुनुपर्छ । प्रत्येक नागरिकले मेरो अगाडि आउने व्यक्ति कोरोना सङ्क्रमित छ भनेर सोच्नुपर्छ । दूरी कायम नगरे मलाई सर्न सक्छ भन्ने चेतना नागरिकमा भयो भने समस्याको अन्त हुन्छ । यस्तै कार्यालय तथा सार्वजनिक संस्थामा कोरोना सङ्क्रमणको असर नपरोस् भनेर त्यस्तै किसिमको उपायहरु अपनाउनुपर्छ ।

बाहिरका मानिस वा  भिजिटरलाई हातधुने व्यवस्था, मास्क नलगाई भित्र जान नदिने लगायतका सुरक्षाका उपाय अपनाउनुपर्छ । कार्यालयमा पनि भिडभाड  गर्नु हुँदैन ।  यस्तो गर्न सकिएमा संस्कार बस्दै जान्छ र पछिसम्म पनि सामाजिक अनुशासन कायम रहन्छ ।  

यस्तो संस्कार बसाल्न सकिएमा कोरोनामुक्त भएको अवस्थामा पनि सामाजिक अनुशासन कायम हुन्छ ।  जसले देशलाई बलियो बनाउँछ । 

सुन्नुहोस् 'कोरोना क्याप्सुल' :

अन्तिम अपडेट: बैशाख ७, २०८१

विमल कोइराला

विमल कोइराला पूर्व मुख्य सचिव एवं कवि हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया