प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डौ – समयमा घर फर्कन नपाएपछि नेपाली श्रमिकहरुले परदेशमै आफ्नो सरकार विरुद्ध प्रदर्शन थालेका छन् । कोरोना महामारी सुरु भएदेखि नै बेरोजगार भएर घर फर्कने प्रतिक्षामा रहेका उनीहरु प्रदर्शनमा उत्रन बाध्य भएका हुन् ।
कोरोना महामारी सुरु भएपछि झण्डै तीन महिना जहाज उडेनन् । त्यसपछि समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीकै लागि चार्टर्ड जहाज उड्न थाले । तर घर फर्कने नेपाली धेरै र उडान सङ्ख्या थोरै हुँदा आफैं टिकट काटेर आउँछु भन्ने श्रमिक पनि फर्कन पाएनन् । हातमा सुको नभएर टिकटै काट्न नसक्ने श्रमिकको समस्या त परको कुरा ।
श्रमिकहरु महिनौंदेखि हजार दुःख सहेर घर फर्कनैका लागि कुरिरहेका छन् । तर कहिले उडान नै स्थगित गर्ने कहिले भाडामा मोलतोल गर्ने त कहिले नेपाली लिन गएको जहाज पनि रित्तै फर्कनेजस्ता प्रवृत्तिले श्रमिकको धैर्यताको बाँध फुट्न थालेको छ । त्यसैले उनीहरु परदेशको कानुन र परिस्थितिको वास्तै नगरी सडकमै आन्दोलन गर्न बाध्य भएका हुन् ।
गएको वैशाख २३ गते यूएईको कम्पनीमा काम पनि नभएको र खाना बस्न पनि नपाएको भन्दै नेपालीहरु झोला बोकेर दूतावासको गेटमा पुगे ।
यूएईको सारजहा इमिरेट्स ट्याक्सी क्याबमा रोजगारीका लागि गएका उनीहरु झण्डै दुई सय किलोमिटर यात्रा गरेर आबुधाबीमा रहेको नेपाली दूतावास पुगेका थिए । उनीले दूतावास अघिल्तिर कि खान र बस्न देउ कि घर पठाइदेउ भन्दै धर्ना दिएका थिए ।
नेपालबाट ओशो तथा फ्युचर म्यानपावरमार्फत १ लाख ५० हजारदेखि ३ लाख ३५ हजार रुपैयाँसम्म तिरेर यूएई पुगेका उनीहरुमध्ये धेरैले तलब पाएका थिएनन् । कतिपयको भिसा समेत क्यान्सिल भएपछि कुनै विकल्प नभेटेपछि उनीहरु झोला बोकेरै दूतावासको गेटमा पुगेका थिए ।
मंगलबार साउदीमा पनि नेपाली श्रमिकहरु सरकार बिरुद्ध उत्रिए । सात महिनादेखि कामबिहीन हुँदा पनि घर फर्कन नपाएपछि उनीहरुको आक्रोश साउदीको गर्मीभन्दा चर्को थियो । घर फर्कने पालो कुरिरहेका श्रमिकले सरकारले तोकेको उडान सङ्ख्या र स्वदेश फिर्तीको नीति देखेपछि सडकै उत्रनु परेको बताएका छन् ।
साउदीको रियादमा रहेको नेपाली दूतावास परिसरमा श्रमिकहरुले दूतावास र सरकार विरुद्ध नाराबाजी गरेका छन् । सात महिनादेखि घर फर्कनकै लागि क्याम्पभित्र कोचिएर बसेका उनीहरु अझै घर आउने पालो अनिश्चित हुँदा सडकमा उत्रिएका हुन् ।
स्वदेश फिर्तीका लागि साउदीमा मात्रै सरकारले दिनमा पाँच उडान गर्नुपर्ने उनीहरुको माग छ । तर सरकारले साउदीमा सेप्टेम्बर महिनाका लागि १५ उडानको अनुमति दिएको छ । यो एक महिनाको अवधिमा साउदीबाट जम्मा तीन हजार श्रमिक फर्कन पाउँछन् । बाँकीले अझै कहिलेसम्म कुर्नपर्ने हो अनिश्चित छ ।
प्रा.डा. महेन्द्रप्रसाद सिंह राजपूत
राजदूत साउदी अरेबिया
अहिले भइरहेको सबै समस्याको एउटा मात्र समाधान उडान थप्नु नै हो । तोकिएको समयमा जहाज आउँदैनन् । कहिले प्राविधिक कारणले उड्दैनन् त कहिले तोकिएका उडान पनि स्थगित हुन्छ । सेप्टेम्बर महिनाका लागि हामीले १५ उडान पाएका छौं ।
यो उडानमार्फत करिब तीन हजार मानिस पठाउने हाम्रो योजना छ । हामीले उडान सङ्ख्या थपिदिनुहोस्, अपुग भयो भनेर पर्यटन मन्त्रालयदेखि परराष्ट्रसम्मलाई अनुरोध गरेका छौं । अझै केही उडान थपियो भने सहज होला, नत्र उडान नै छैन भने के गर्ने ? सबै समस्याको जड पर्याप्त उडान नहुनु नै हो ।
उडानको अभाव हो । जसलाई खान पुगेको छैन, बस्न पाएको छैन उनीहरुलाई दूतावास, नेपाली समुदाय र एनआरएनए मिलेर पुर्याइरहेकै छौं ।
८ हजार मानिसलाई पठायौं, अहिलेसम्म तर अझैं १० हजार मानिस प्रतिक्षामा छन् । उनीहरु सहज रुपमा फर्कन उडान नबढाई हुँदैन । साउदीले नियम ल्याएको छ, नो वर्क नो पे, हाफ वर्क हाफ पे । अनि यहाँ श्रमिकहरु ६, ७ महिनादेखि बेरोजगार छन् । उनीहरु समयमै घर फर्कन पाएको भए अहिले यो समस्या आउँदैन थियो ।
पैसा तिरेर जान चाहनेका लागि पनि त उडान नै चाहियो । उडान भयो भने धेरै मानिस पठाउन सकिन्छ । हामीले अनुरोध गरिरहेका छौं ।
म ग्यारेण्टी गर्छु सरकारले उडान बढाइदेओस्, यहाँको व्यवस्थापन हामी गर्छौं । कम्पनीले गर्छ । सयौं सवालको एउटै जवाफ थप उडान हो । दूतावासको निचोड पनि यही हो कि थप उडान नभइ समस्याको समाधान हुँदैन ।
डा. नारदनाथ भारद्वाज
राजदूत, कतार ।
१८ हजारभन्दा बढीले यहाँबाट नेपाल जान फारम भरेका छन् । उनीहरुमध्ये सातहजार त गए । अझै १२ हजार जति मानिस कुरिरहेका छन ।
त्यसमध्येमा पनि ५ हजार तत्काल जानु पर्नेछ । उनीहरुको नाम मिनिस्ट्रि अफ इन्ट्रियरबाट नाम पास भएर आएको छ । तर पर्याप्त उडान नहुँदा अहिले अप्ठेरो परिस्थिति छ । सेप्टेम्बरभरीमा जम्मा १४ वटा उडानहरु तोकेको छ । त्यसमा अब ३ हजार मानिस पठाउन गाह्रो छ भने अरुले त कुर्नै पर्यो । छिटो हुने सम्भावना छैन ।
हामीले अनुरोध त गरेको हो । तर ८ सयको सङ्ख्यामा मानिस ल्याउने भनेको छ । यहाँको हरेक क्षेत्र प्रभावित भएको छ । कतिको रोजगारी गुमेको छ, कतिको करार सकिएको छ त कतिपय कम्पनी अझै बन्द नै छन् । कतिपय घर फर्कन चेक आउट मेमो लिएर बसेका छन् । उनीहरुको बस्ने ठाउँ नै हुँदैन ।
यहाँ गर्मी छ । मानिस आधा घण्टा पनि बाहिर बस्ने अवस्था छैन । जटिल अवस्थामा छन् । पैसा तिरेर बस्ने होटल पनि छैन । स्टार होटल छन् । कामदारहरु यहाँ त्यस्ता होटलमा बस्ने कुरा पनि भएन ।
दूतावासलाई दबाब छ । दूतावासको पनि आफ्नै बाध्यता छ । आवास सुविधा छैन ।
अहिले घर फर्काउने कुरा नै चुनौती छ । त्यसैले उडानहरु खुल्नु पर्यो । ठूला जहाज पठाउनु पर्यो । यति फर्कन पाउने भन्ने हदबन्दी हटाउनु पर्यो ।
पहिले पीसीआर गर्ने व्यवस्था थिएन । तर अहिले सहज भएको छ । पीसीआर गरेर जाँदा सुरक्षित मानिस नै जाने हुन् भनेपछि सङ्ख्या हदबन्दीको आवश्यकता छैन । जति पनि जान्छन्, उनीहलाई घर पठाइदिंदा हुन्छ । किनभने त्यसो हुँदा जति जान चाहन्छन्, उनीहरु घर जान्छन् । यहाँ अवस्था सुधार भयो भने त मानिस त यहीँ पनि काम गर्न थाल्छन् ।
कृष्णप्रसाद ढकाल
राजदूत, यूएई ।
नियमित उडान खुलेपछि नेपालीहरुलाई सहजीकरण हुन्छ भनेर नै खुलाउन अनुरोध गरेका हौं । उडान त खुल्यो तर उडान सङ्ख्या कम भयो । थप्न अनुरोध गरेका छौं ।
अहिले एक महिनाका लागि २८ वटा पाएका छौं । तर यहाँबाट ३० हजारभन्दा बढी त घर फर्कन कुरिरहेका छन् ।
यो त ट्रान्जिट पनि हो । उनीहरुलाई पनि बोक्नु पर्यो । सरकारले उडान थपेको पनि हो । तर अmझै कम छ । यहाँ नेपालीहरु जरिवानामा पर्न थाल्नुभएको छ । कतिपय त टिकट काटेर पनि जान पाउनुभएको छैन ।
जरिवाना तिर्न नसकेर फर्कन नसक्नेलाई अर्को उडानमार्फत पठाउन समन्वय भइरहेको छ ।
जरिवाना मिनाह गराउन माग गर्ने काम पनि भैरहेको छ । ओभरस्टेले गर्दा समस्या छ ।
त्यसका लागि पनि नियमित उडानको सङ्ख्या नबढाइ नहुने छ । तिर्नै नसक्ने अवस्था छ । तिर्न नसकेर रोकिंदा झन जरिवाना रकम बढ्छ । सरकारले उडान सङ्ख्या थपिदेला भन्ने अपेक्षा छ ।
उदयराज पाण्डे
राजदूत, मलेसिया ।
नियमित उडान त खुल्यो, तर त्यसले झन अर्को समस्या भएको छ । श्रमिकलाई फर्कन पनि समस्या भएको छ भने एअरलाइन्सहरुको पनि मोनोपोली भयो ।
पहिले हप्तामा ३२ वटासम्म उडान हुन्थ्यो । तर अहिले १३ वटा मात्र उडान कायम गरियो । त्यसमा हामीले माग गरेपछि अहिले महिनाको २५ वटा त बनाइएको छ, तर यो पर्याप्त छैन । किनभने यहाँबाट फर्कन खोज्ने अझै १० हजारको हाराहारीमा छन् । यो सङ्ख्या दिनहुँ बढिरहेकै छ ।
त्यसकरण पनि उडान कम हुँदा जहाजले जसले बढी पैसा तिर्छ, उसैलाई टिकट बेच्ने भयो । श्रमिक ठगीमा परे । त्यसैले हामीले सरकारसँग माग राखेका छौं कि कम्तीमा एक हप्तामा १६ वटा उडान भयो भने महिना ६४ हुन्छ ।
मलेसियाबाट चारवटा एअरलाइन्सले उडान भर्छन् । चारवटैलाई हप्तामा ४, ४ वटा दियो भने सस्तोमा टिकट पनि पाइन्छ र फर्कन खोज्नेलाई पनि सास्ती हुँदैन । सजिलै फर्कन पाउँछन् । हामीले माग पनि गरेका छौं । हेरौं अब के हुन्छ ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।
Ranjit Rai
Sept. 9, 2020, 7:33 p.m.अबुधावीवाट काठमाण्डौको टिकट २२००/२५०० भन्छ, अनि नेपाली दुतावासले कहाँ र कसरी अनुगमन गर्दैछ नि ?? यहाँ मान्छेहरु कोरोनाको बेला कति बिजोगले दिन काटिरहेका छन्, जसको जब छैन, उसको त कुरै नगरौं /जसको जब चल्दैछ , उसले पनि यो बेलामा त्यही ९००/१००० भन्दा बढी पाउंदैन अथवा भनुं तलव त्यति मात्र छ - त्यही पैसाले खानुपर्यो...यो पाराले त एउटा सिंगल टिकट लिन पनि ४ महिना काम गर्नुपर्ने रहेछ / यो दु:खको बेलामा त मानवता देखाउ कमसेकम , यति साह्रो बेइज्जत नगराउत नेपालको ..मरी लानु केही छैन /
Amrit sunuwar
Sept. 9, 2020, 5:52 p.m.बिदेशमा काम गर्ने नेपालीहरुले पठाएको रेमिटेन्स चै सरकारलाई मन पर्ने जब त्यही रेमिटेन्स पठाएर देशको अर्थतन्त्रमा महत्वपुर्ण टेवा पुर्याउने जनता दुखमा हुँदा चै मन नपर्ने, रमिते बन्ने यो मुकदर्शक सरकारको रबैया अति भयो कोरोनाको बहानामा आफ्नो स्वार्थमा लिप्त यो सरकारलाई जनताले चिन्नु जरुरी छ । कोरोनामा तेत्रो बजेट खर्च देखाको छ यता जनता रोगले भन्दा भोकले मरिराछन अनि त्यो पैसाले कहाँ उद्दार भयो र तेत्रो पैसा सकियो ? अब नेपाल सरकारले बिदेशमा अलपत्र नेपालिहरुको उद्दारको लागि तुरुन्त फ्लाईट संख्या बढाएर भाड दर घाटाएर आफ्नो नागरिकको उद्दार गर्नुको बिकल्प छैन नत्र यो भन्दा बिकाराल समस्यामा नेपाली पर्ने पकका छ यो कुरा सरकारले तुरुन्त बुझोस ।
Mangal lama
Sept. 9, 2020, 3:48 p.m.महेन्द्र सरको नम्वर दिनु न साउदीको / फ्लाइटको रकम कति तोकिएको छ रियाद -काठमाण्डौ बुझ्नको लागि हो /