‘सुरक्षा मापदण्ड अपनाएर जनजीवन सामान्य पार्दै लैजानुपर्छ’

 भदौ २४, २०७७ बुधबार १४:४७:१० | डा. समीरमणि दीक्षित
unn.prixa.net

काठमाण्डाै – निषेधाज्ञा लागू गर्ने वा खोल्ने भन्ने विषयमा नेपालमा धेरै जना अलमलमा छन् । त्यही भएर हामीले छिमेकी देशहरुलाई हेर्न आवश्यक छ । भारत, पाकिस्तान र बङ्गलादेश तीन वटै देशमा हाम्रोमा भन्दा सङ्क्रमणको दर उच्च छ । कोरोनाका कारण हुने मृत्युदर पनि हाम्रोमा भन्दा धेरै छ । यसका साथै जनसङ्ख्या पनि धेरै छ । तर तीनवटै देशले लकडाउन तथा निषेधाज्ञा खुकुलो पार्दै लगेका छन् ।

हामीले युरोप, अमेरिका हेर्नुभन्दा पनि हाम्रै छिमेकी राष्ट्रलाई हेर्ने हो । उनीहरुले पनि प्रतिबन्धहरु बिस्तारै खुकुलो पार्दै र नागरिकको जनजीवन सहज पार्दै लगेका छन् । अब नेपालमा पनि बिस्तारै निषेधाज्ञा खुकुलो पार्दै जनजीवन सहज पार्दै लैजानुपर्छ  । 

समुदायमा कोरोनाको अवस्था के छ भनेर हेर्नका लागि परीक्षण बढाउने होइन । समाजमा, टोलमा सङ्क्रमित छन् भने उनीहरुलाई छुट्टै राख्नका लागि परीक्षण गर्ने हो । त्यो काम राज्यले पहिल्यै गर्नुपर्थ्याे । अझै पनि ढिलो भएको छैन । टोल–टोलमा र वडा–वडामा जानुपर्यो । सकेसम्म धेरै परीक्षण गर्नुपर्यो । जुनजुन वडामा धेरै सङ्क्रमित भेटिन्छन्,  त्यहाँमात्रै सिल गर्ने, लकडाउन गर्ने हो ।  बाँकीलाई जनजीवनमा फर्कन दिनुपर्छ । विश्वले पनि यस्तै गरिरहेका छन् ।

 याे पनि सुन्नुहाेस्

मास्क अनिवार्य लगाउने, नलगाउनेलाई कारबाही गर्ने काम सुरक्षा निकायले गर्नुपर्छ । यदि सुरक्षा मापदण्ड पालना गरेका छैनन् भने कारबाहीको दायरामा ल्याउनुपर्छ । सुरक्षाका उपाय अपनाउने व्यवसायीलाई मात्र सेवा गर्न दिनुपर्छ ।  सबै सुरक्षा मापदण्ड अपनाएर निषेधाज्ञा खुकुलो पार्न सकिन्छ ।  

सार्वजनिक गाडीलाई जोर–बिजोर गरेर सञ्चालन गर्नु भनेको झन् डरलाग्दो अवस्था हो । जनसङ्ख्याको आधारमा गाडी कम हुँदा झन् भिडभाड हुने सम्भावना हुन्छ । बरु धेरै गाडी चलाउने तर सुरक्षा सावधानीका उपाय अपनाउनुपर्छ ।

राष्ट्रव्यापी लकडाउनको घोषणाको अन्त्यपछि पनि सार्वजनिक गाडीहरु सञ्चालन भएका थिए । त्यसैगरी सञ्चालन गर्न दिनुपर्छ । तर सुरक्षा सावधानी भने अपनाउनुपर्छ । सार्वजनिक गाडीमा धेरै जना नबस्ने, सिट सङ्ख्याको आधारमा मात्रै बस्ने, दुरी कायम गरेर बस्ने जस्ता नियम लागू गर्नुपर्छ ।

निजी गाडी र मोटसाइकलमा पनि दुई जना मात्रै बस्न पाउने, मास्क अनिवार्य लगाउने, नियम बनाउनुपर्छ । कार्यालयमा काम गर्नुपर्छ, कलकारखाना सञ्चालन गर्नुपर्छ । काम गर्ने ठाउँसम्म पुग्न यातायात आवश्यक पर्छ । यस्तो अवस्थामा गाडी सञ्चालनमा रोक लगाउनु हुँदैन ।  

पसल तथा व्यवसाय तुरुन्तै दिनभरि खोल्नुपर्छ । चीन चार घण्टा मात्र खोल्न दिएर हुँदैन । त्यसका लागि पनि मापदण्ड भने अपनाउनुपर्छ । पसलभित्र सीमित व्यक्तिलाई मात्र छिर्न दिने, दुई मिटरको दुरी कायम हुने गरी बस्न सक्ने व्यवस्था मिलाउन सकिन्छ ।

सानो पसलमा एक पटकमा दुई जना र ठूलो पसलमा २० जना मात्रै भित्र छिर्न दिनुपर्छ । त्यति गर्न सम्भव नभए ग्राहकलाई बाहिरै राखेर सामान बाहिरै ल्याएर दिनुपर्छ । व्यवसायीले भित्र बस्दा पनि मास्क लगाएर दुरी कायम गरेर काम गर्नुपर्छ । भारतमा तथा बङ्गलादेशमा पनि यस्तै नियम सुरु भइसकेको छ । 

पसल खुल्दैमा, कार्यालय खुल्दैमा सङ्क्रमण ह्वात्तै बढ्छ भनेर मानिसमा त्रास फैलाइएको छ तर त्यसो होइन । हामीले सावधानीका उपाय अपनाएनौँ भने मात्र सङ्क्रमण बढ्ने हो । मुख्य कुरा मास्क अनिवार्य गर्नुपर्छ, दुरी कायम गर्नुपर्छ । यसो गरेमा कोरोनाको सङ्क्रमण हुँदैन । सङ्क्रमण हुनका लागि रोगजन्य भाइरस नाकबाट जिउभित्र छिर्नुपर्छ ।

नाक, मुख छोपिने गरी मास्क लगायौँ भने सङ्क्रमण हुने डर कम नै हुन्छ । निषेधाज्ञा खुकुलो पार्न गाह्रो छैन । तर खुकुलो पार्ने नाममा सुरक्षा मापदण्ड भने पालना हुनु आवश्यक छ ।  

(डा. दीक्षितसँगको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: चैत २७, २०८०

डा. समीरमणि दीक्षित

डा. दीक्षित जनस्वास्थ्य विज्ञ हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया