जहाज खरिद प्रक्रिया तत्काल अघि बढाउन मन्त्री भट्टराईको निर्देशन

 भदौ २४, २०७७ बुधबार १६:५२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक जहाज खरिद प्रक्रिया अघि बढाउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिनुभएको छ ।

निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखसँगकाे संयुक्त बैठकमा मन्त्री भट्टराईले आन्तरिकतर्फ दुई वटा मात्र टुइनटर जहाज भएको र त्यसले माग धान्न नसकेको दुर्गम क्षेत्रमा सेवा प्रदान गर्नको लागि तत्कालै जहाज खरिदको प्रक्रिया सुरु गर्न निर्देशन दिनुभएको हो । 

मन्त्री भट्टराईले नेपाल एअरलाइन्सलाई पब्लिक कम्पनी मोडलमा लैजानको लागि कुन समय उपयुक्त हुन्छ, त्यसको खाका लगानी कोष,सञ्चयकोष,पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी तयार गर्न निर्देशन दिनुभएको हो ।

मन्त्री भट्टराईले नेपाल एअरलाइन्स ऐतिहासिक नेपाली ध्वजावाहक एअरलाइन्स भएकोले यसको साख जोगाउने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले एअरलाइन्सको स्थिति सुधारको लागि आ–आफनो विभागबाट तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढन आग्रह गर्नुभएको हो ।

उहाँले नेपाल एअरलाइन्स ठूलो आर्थिक ऋणमा रहेकोले देशका विभिन्न २३ ठाँउमा रहेका अचल सम्पत्ति (जग्गा) लाई व्यावसायिक उपयोग गरी निगमको आर्थिक अवस्था सुधार गर्नसमेत आग्रह गर्नुभयो । 

खर्च कटौती तथा मितव्ययिता अपनाउन विदेशमा रहेका कर्मचारी कटौती गर्न बैठक भत्ता घटाउन साथै कर्मचारी, बोर्डका पदाधिकारी र अवकाश पाएका कर्मचारीले पाउने सुविधाबापतको टिकट ५० प्रतिशत कटौती गर्नसमेत उहाँले अनुरोध गर्नुभयो ।

मन्त्री भट्टराईले जीएसए तोक्दा प्रतिस्पर्धी, क्षमतावान् एजेन्सी छनाेट तथा आवश्यक मापदण्ड बनाएरमात्र तोक्नु पर्नेमा जोड दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया