रातो मच्छिन्द्रनाथको रथ भत्काउने काम सुरु

 भदौ ३१, २०७७ बुधबार ८:५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  एक हप्ता लाग्ने ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ भत्काउने काम भइरहेको छ ।

सोमबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई बुंगमती लगिएपछि रथ भत्काउने काम सुरु भएको रथ निर्माणमा संलग्न दिलकुमार बाराहीले बताउनुभयो । विगतका वर्षहरुमा जावलाखेलमा भोटो देखाएर खटमा राखेर मूर्तिलाई बुङ्गमति लगेपछि जावलाखेलमा रथ भत्काउने चलन थियो । तर यसपाली कोरोना सङ्क्रमणकाे जोखिमकका कारण रथजात्रा छोट्टयाएसँगै पुल्चोकमा रथ भत्काउने काम भएको हो ।

रथ निमार्णको लागि तिथीको आधार लिएर बनाउनुपर्ने समयसीमा भए पनि रथ भत्काउन त्यस्तो समयसीमा नभएको बाराहीले बताउनुभयो । बाराही समुदायले रथमा राखिएको सुनको फूल र नाग निकालेपछि मात्र रथको विभिन्न भागबाट काठ निकाल्ने काम हुन्छ । रथ पूरै भत्काउन अझै एक हप्ता लाग्ने पनि बाराहीले जानकारी दिनुभयो ।

यसरी रथ भत्काएर आएको धमा भनिने लामो काठ पुल्चोकमा रहेको धमापाटीमा राखिन्छ । त्यस्तै चार वटा ठूला पाङग्रा जावलाखेलमा रहेको पाटीमा राखिन्छ । जुन अर्को वर्ष रथ बनाउन प्रयोग गरिन्छ । त्यस्तै रथ बनाउन प्रयोग गरिएका विभिन्न काठ, बेत र डोरी केही गुठी संस्थानले राख्छ भने केही रथको काठ निकाल्न खट्नेहरुका लागि ज्याला बापत दिइन्छ ।

यंवा समुदाय र बुङ्गमतीका स्थानीयहरुले रथबाट काठ छुट्टयाउने कामको आधा आधा जिम्मेवारी लिएका हुन्छन् । मीननाथको रथ भत्काउने काम पाटनको तंगलमा हुनेछ ।

अन्तिम अपडेट: असोज २, २०७७

तपाईको प्रतिक्रिया