‘भाडा नबढाऊ तर पूरै सिटमा यात्रु राखेर जहाज उडाउन पाउनुपर्छ’

‘संसारमा कतै नभएको नियम लगाएर वायु सेवा व्यवसाय धरापमा पार्न खोजियो’

 भदौ ३१, २०७७ बुधबार १९:२४:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वायु सेवा सञ्चालकले सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने नियम खारेज नभए जहाज नै नउडाउने भएका छन् । 

सरकारले असोज १ गतेदेखि आन्तरिक उडान गर्न पाइने तर सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने नियम बनाएको छ । तर वायु सेवा सञ्चालक सङ्घले भने यस्तो नियम संसारमा कतै नभएको भन्दै पूर्ण सिट क्षमतामा यात्रु बोक्न नपाउने भए उडान नै सुरु नगर्ने अडान लिएका छन् । 

पर्यटन मन्त्रालयमा बुधबार भएको छलफलमा पनि वायु सेवा सञ्चालक सङ्घले झण्डै सात महिना बन्द भएका एअरलाइन्स अझै पनि ५० प्रतिशत क्षमतामा यात्रु बोकेर उडाऊ भन्नु अत्यन्तै गैरजिम्मेवार निर्णय भएको बताएका छन् ।

‘सुरुमा २५ प्रतिशतको सङ्ख्यामा मात्रै उडान गर्न भनेकोमा हाम्रो आपत्ति छैन तर सिट क्षमताको ५० प्रतिशत मात्रै उडाऊ भन्नु कत्ति पनि जिम्मेवारपूर्ण निर्णय भएन, संसारका कुनै पनि देशले आधा क्षमतामा जहाज उडाउन भनेका छैनन्, हाम्रो देशमा मात्रै किन यस्तो ?’ वायुसेवा सञ्चालक सङ्घका कोषाध्यक्ष रुपेश जोशीले उज्यालोसँग भन्नुभयो । 

मन्त्रालयले भाडा बढाउने प्रस्ताव राखेकोमा पनि वायु सेवा सञ्चालक सङ्घले उत्साहित नभएको जनाएको छ । ‘अहिलेको अवस्थामा भाडा बढाउने निर्णयको स्वागत गर्दैनौँ, हाम्रो सरोकार भाडा बढाउने होइन पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्छ भन्ने हो’, जोशीले भन्नुभयो । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आईकाओ, पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणलगायतका निकायले तोकेका पूर्ण मापदण्ड पालना गर्दा पनि आधा क्षमतामा यात्रु उडाउन भनेर व्यवसायलाई नै धरापमा पार्ने काम भइरहेको वायु सेवा सञ्चालकको भनाइ छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया