'साेल्टी हाेटलकाे आइसाेलेशनमा बस्दा खर्च भएकाे विवरण मेयर शाक्यले सार्वजनिक गर्नुपर्छ'

 भदौ ३१, २०७७ बुधबार १९:५७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विवेकशील नेपाली दलले काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसँग सोल्टी होटलमा 'आइसोलेशन' बस्दा भएको खर्च विवरण माग गरेको छ । गएकाे पालिकाकाे चुनावमा काठमाण्डौ महानगर प्रमुखकी प्रत्याशी एवं दलकी नेत्री रञ्जु दर्शनाले सूचनाको हक बमोजिम निवेदन दर्ता गरेकी हुन् ।

दर्शनासँगै दलका सङ्घीय समिति सदस्यहरु रजिया बानु र प्रमेश श्रेष्ठले शाक्यको पाँच तारे होटलको आइसोलेशनको खर्चमा महानगरले बेहोरेको विवरण तथा महानगरले कोभिड-१९ रोकथामको लागि गरेको खर्च विवरणको सूचना मागिएको हो । 

सूचनाको हक सम्बन्धिको निवेदनमार्फत दर्ता गर्न महानगरपालिका कार्यालय पुगेका दलका नेताहरुले कोभिड सङ्क्रमण नियन्त्रण गर्न असक्षम रहेको र पारदर्शीता कायम नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

निवेदन दर्ता गरेपछि नेत्री रञ्जु दर्शनाले भन्नुभयाे, 'नागरिकको जिउ धनको रक्षा गर्न असक्षम मात्र होइन, महानगरका गतिविधिहरुमा पारदर्शीता कायम नभएकोमा समेत हामीले महानगरको ध्यानाकर्षण गरायौँ ।' निवेदनमा माग भए बमोजिमको सूचना प्राप्त भएपछि त्यसको विश्लेषण गरेर भावी कदम चाल्ने विवेकशील नेपालीको तयारी छ । 

विवेकशील नेपाली दलले सूचनाको हक उपयोग गर्दै सूचना माग गर्ने निवेदन लेख्न सजिलो हुने वेबसाइट निर्माण गरेको छ । https://rti.bibeksheelnepali.com/ मा गएर सामान्य विवरण भरेर तोकिएको ढाँचामा निवेदन तयार हुने गर्दछ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया