आर्थिक वर्षकाे दुई महिनामा रसुवा भन्सार कार्यालयकाे राजस्व संकलन निराशाजनक

 असोज ३, २०७७ शनिबार १२:५८:४२ | हिमनाथ देवकोटा
unn.prixa.net

रसुवा - चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनामा रसुवा भन्सार कार्यालयको राजस्व संकलन निराशाजनक रहेको छ ।

कार्यालयले साउन र भदौ महिनामा लक्ष्यभन्दा निकै कम राजश्व संकलन गरेको हो । कार्यालयका अनुसार साउन महिनामा ६८ करोड १० लाख ६५ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा २३ करोड ५६ लाख ९८ हजार मात्र राजस्व संकलन भएको थियो । त्यस्तै भदौ महिनामा ७९ करोड ३८ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा १५ करोड ३७ लाख राजस्व संकलन गरेको छ ।

काेराेना भाइरसका कारण माघ १५ गतेदेखि असार २७ गतेसम्म नाका बन्द गरिएको थियो । त्यसयता पनि नाकामा नियमित कारोबार हुन सकेको छैन । काेराेना भाइरसका कारण पटक-पटक नाका बन्द हुँदै आएको छ । अहिले पनि नाका बन्द अवस्थामा छ ।

नाकामा नियमित आयात नहुने, न्यून आयात हुने र निर्यातको लागि अनुमति नपाउँदा लक्ष्यको तुलनामा कम राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत पुण्य विक्रम खड्काले बताउनुभयो । रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ । यस्तै नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ ।

तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन ।

अन्तिम अपडेट: चैत १६, २०८०

हिमनाथ देवकोटा

रसुवाका पत्रकार हिमनाथ देवकोटाका उज्यालोका पनि जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया