रानीपोखरीमा दुई कराेड लिटर पानी हालियाे : भोलिसम्ममा भरिने

 असोज ३, २०७७ शनिबार १५:४३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको रानीपोखरीमा धमाधम पानी भरिँदैछ । अहिलेसम्म झण्डै २ करोड लिटर पानी पोखरीमा हालिएको राष्ट्रिय पुनर्निर्माण  प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको आग्रहमा बाग्मती खानेपानीले पानी राखेको प्राधिकरणका सम्पदा विज्ञ एवं रानीपोखरीको पुनर्निर्माण हेर्दै आएका राजुमान मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार रानीपोखरीमा ३ करोड २२ लाख लिटर पानी भर्नुपर्नेछ ।

निरन्तर पानी खसाल्ने काम भैरहेको र भोली बेलुकासम्म भरिने मानन्धरले जानकारी दिनुभयो । पोखरीको पिँध र पानी रहने पर्खालको काम सकिएसँगै पानी भर्न मिल्ने भएको हो । रानीपोखरी पुनर्निर्माण अन्तर्गत पोखरीको पीँधमा कालो माटो र इँटा ओछ्याइएको छ । त्यस्तै पानी रहने भागमा पर्खाल निर्माण गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत पोखरीको पीँध र पानी रहने भागको पर्खाल निर्माणको काम गराएको हो । विसं २०७५ फागुनमा गठन गरिएको उपभोक्ता समितिले पोखरीको सतह र वरिपरिको पर्खालमा १५ देखि १८ इञ्च कालो माटो हालेर त्यसमाथि इँटा ओछ्याएको हो ।

यसअघि भूकम्पको पाँच वर्ष पुगेकै दिन गएको बैशाख १२ गते यो काम सक्ने कार्यतालिका थियो । सबै काम सकेर गएको बैशाख १२ गते रानीपोखरी उद्घाटन गर्ने तयारी थियोे । तर कोरोना सङ्क्रमण जोखिमका कारण सरकारले लकडाउन गरेपछि काम र उद्घाटन पनि प्रभावित भएको थियो ।

२०७२ साल बैशाख १२ गतेको भूकम्पको कारण रानीपोखरीमा क्षति भएकाले पानी सुकाइएको थियो । भूकम्पले क्षति गरेपछि पोखरीमा बाँकी रहेको पानी फालेर पुनर्निर्माण थालिएको थियो । रानीपोखरीको पिँध पुनर्निर्माणको लागि सुरुमा भक्तपुरबाट कालिगड ल्याइएको थियो भने त्यसपछि सीप हस्तान्तरण गरी काठमाण्डौका कालिगड पनि सहभागी भएका थिए ।

अहिले रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर पुनर्निर्माणको काम भैरहेको छ । सीएम तुलसी कन्स्ट्रक्शन जेभीले मन्दिर पुनर्निर्माणको काम गरिरहेको छ । निर्माण व्यवसायी सीएम तुलसी कन्स्ट्रक्शन जेभीसँग गएको असार २४ गते प्राधिकरणले मन्दिर, पुल र पोखरीबाहिरको काम गर्ने गरी १५ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको हो ।

सम्झौता अनुसार १० महिना अर्थात् गएको चैतभित्र सक्नुपर्ने काम ठेकेदारले अझै सकेको छैन । उपभोक्ता समितिले १० करोड र निर्माण व्यवसायीले १५ करोड गरी झण्डै २५ करोड रुपैयाँमा रानीपोखरी पुनर्निर्माणको काम थालिएको थियो।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया