लुटेराले ‘गोली ठोक’ भने, व्यवसायीले ‘गोली नठोक’ भन्दै २५ लाख दिए

 साउन २४, २०७५ बिहिबार १७:३१:३० | आशिष विश्वकर्मा

सिरहा – सिरहाको मिर्चैया–कल्याणपुर सडकको मिर्चैया नगरपालिका–३, तीनगछियाबाट बिहीबार अपरान्ह एक व्यवसायी लुटिएका छन् । 

सिरहाकै कल्याणपुर नगरपालिका ११ का राजाराम साहको आफ्नै नाममा रहेको राजाराम मनी ट्रान्सफरका लागि मिर्चैयास्थित ग्लोबल आईएमई बैंकबाट निकालेर लगेको २५ लाख ६० हजार रुपैयाँ लुटिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी दीपेन्द्र शाहले बताउनुभयो । 

बैंकबाट पैसा झिकेर ज ६ प ८१८५ नम्वरको मोटरसाइकलमा गइरहेको साहलाई दुईवटा मोटरसाइकलमा आएका चारजनाको नचिनेको समूहले पैसा लुटेको प्रहरीले जनाएको छ । निलो र रातो रंगको पल्सर मोटरसाइकलमा आएका लुटेराहरुले आफू चढेको मोटरसाइकल घेरेर गोली ठोक भन्दै घेरेपछि साहले गोली नठोक भनेपछि आफूले रकमसहित झोला जिम्मा लगाएको साहलाई उद्धृत गर्दै प्रहरीले बताउनुभयो । लुटेराहरुले  गोली ठोक भने पनि हतियार भने आफूले नदेखेको साहले जनाउनुभयो । 

लुटेराहरुले साहको साथमा रहेको एक थान मोबाइल समेत लगेको जनाएको छ । रकम लुटेपछि लुटेराहरु उत्तरतिर फर्किएर पश्चिम दक्षिण भागेको प्रहरीले जनाए । उनीहरु सिरहा  धनुषाको सीमाना कमला नदीतर्फ भागेको जनाएको छ । लुटेरा समूहको खोजीको लागि व्यापक प्रहरी परिचालन गरिएको छ । 

यसअघि पनि त्यही ठाउँबाट एक व्यवसायीको ११ लाख रुपैयाँ लुटिएको थियो ।  बस्ती नभएको र आँपको बगैँचा रहेको त्यही क्षेत्रमा पटक–पटक आपराधिक घटना हुने गरेको मिर्चैयाका एक व्यवसायीले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया