आज विश्व अल्जाइमर्स दिवस : बिर्सने रोग अर्थात् डिमेन्सियाबारे कुरा गर्नुपर्नेमा जोड

 असोज ५, २०७७ सोमबार ८:१८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज विश्व अल्जाइमर्स दिवस ।

‘डिमेन्सियाका बारेमा कुरा गरौँ’ भन्ने नाराका साथ आज दिवस मनाइँदैछ । कोरोना सङ्क्रमण जोखिमका कारण यो वर्ष  भीडभाड हुने गरी कार्यक्रम आयोजना गरिएको छैन । तर अनलाइनको माध्यमबाट यो रोगबारे जानकारी दिनका लागि स्वास्थ्यसँग सम्बन्धित संघसस्थाले कार्यक्रम गरेका छन् ।

अबको ३० वर्षमा विश्वमा १५ करोडभन्दा धेरै मानिसलाई बिर्सने रोग अर्थात् ‘डिमेन्सिया’ हुने विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ । डब्लूएचओले सन् २०५० सम्ममा विश्वमा १५ करोड २० लाख मानिसमा डिमेन्सिया हुने देखाएको हो । विश्वमा प्रत्येक तीन सेकेण्डमा एक व्यक्तिमा डिमेन्सिया हुने गरेको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

बिर्सने रोग अल्जाइमर्स डिमेन्सियाको एउटा सामान्य रुप हो । अल्जाइमर्स भएपछि व्यक्तिले सुरुमा भर्खरै गरेका काम बिर्सन थाल्ने डाक्टरले बताएका छन् । सुरुमा भर्खरै गरेको काम बिर्साउने यो रोगले भविष्यमा सबै कुरा बिर्सेर दैनिक क्रियाकलाप नै गर्न नसक्ने अवस्थामा पुर्याउने गर्छ ।

अल्जाइमर्स भएपछि व्यक्तिले सिकेका सबै सीप बिर्सँदै गएर दैनिक जीवन चलाउन नै समस्या हुने डाक्टरहरु बताउँछन् । बिर्सने रोग भिटामिनको कमी, डिप्रेसन, लामो समय जाँडरक्सी खाने व्यक्ति, परिवारबाट माया नपाउने र उमेर ढल्किँदै गएपछि लाग्ने स्नायुरोग विषेशज्ञ डाक्टर ईशा ढुंगानाले बताउनुभयो । सुत्न नसक्नु वा निन्द्रा कम लाग्नु पनि अल्जाइमर्सको लक्षण हो ।

सुरुमा के कारणले रोग लागेको हो भन्ने थाहा पाउन सके डिमेन्सिया अन्तर्गत पर्ने बिर्सिने रोगको केही हदसम्म उपचार सम्भव भएको डाक्टरहरुको भनाइ छ ।


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया