नेकपा बैठक : पार्टी एकताका बाँकी काम पूरा गर्न १० दिनभित्र कार्ययोजना बनाउन अध्यक्षद्वय र महासचिवलाई जिम्मा

 असोज ६, २०७७ मंगलबार १७:३६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकता र एकीकरणका बाँकी काम पूरा गर्न १० दिनभित्र कार्ययोजना तयार गर्न अध्यक्षद्वय र महासचिवलाई जिम्मा दिएको छ ।

बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पार्टी एकताका बाँकी काम पूरा गर्न १० दिनभित्र कार्ययोजना बनाउन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेललाई जिम्मा दिने निर्णय गरेको हो ।  

यस्तै सचिवालय बैठकले संवैधानिक निकायहरुमा छिटो पदपूर्ति गर्न सरकारसँग आग्रह गरेको छ । संवैधानिक परिषद्को बैठक छिट्टै राखेर संवैधानिक निकायहरुको पदपूर्ति छिटो गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

त्यस्तै संवैधानिक परिषद्को बैठकलाई नियमित रुपमा सञ्चालन गर्न र संवैधानिक निकायका पदपूर्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउन पनि आग्रह गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । मङ्गलबारकाे बैठकमा स्थायी कमिटी बैठकको निर्णय र निष्कर्षलाई कार्यान्वयन प्रक्रियामा लैजाने विषयमा पनि छलफल भएको थियो ।

बैठकले पार्टीभित्रको एकता, समझदारी र विश्वासलाई सुदृढ गर्ने, पार्टी र सरकारको सम्बन्धलाई मजबुत बनाउने, सरकारको कामलाई प्रभावकारी ढङ्गले अगाडि बढाइ सरकारको विश्वसनीयता अझ बढी बनाउने र सरकारलाई अझ सफल बनाउनेतर्फ अघि बढ्ने विश्वास र अपेक्षा गरेको श्रेष्ठले बताउनुभयो ।

बैठकले मन्त्रिमण्डल पुनर्गठनबारे भने कुनै छलफल नगरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया