सार्वजनिक गाडीमा नियम पालना गराउन अनुगमन, मुख्य बसपार्क र भीडभाड हुने क्षेत्रमा चेक प्वाइन्ट स्थापना

 असोज ९, २०७७ शुक्रबार ८:३०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक गाडीको अनुगमन र नियम पालनामा थप कडाइ गरेको छ । आजदेखि अनुगमन तीव्र पारेको र नियम नमान्नेलाई कारबाही गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

सिट क्षमताभन्दा बढी यात्रु राखे/नराखेको, भीडभाड गरे/नगरेको, यात्रुहरूले मास्क लगाए/नलगाएको, बढी भाडा लिए/नलिएको, कोरोना भाइरस सङ्क्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर मात्रै सञ्चालन गरे/नगरेको जस्ता स्वास्थ्य मापदण्ड पालना गरे/नगरेको अनुगमन हुनेछ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार कोरोना भाइरसबाट यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गरी उपत्यकाका मुख्य-मुख्य बसपार्क एवं भीडभाड हुने क्षेत्रमा चेक प्वाइन्ट राखेर गाडीमा स्वास्थ्य मापदण्ड पालना गरे/नगरेको अनुगमनलाई तीव्र पारेको जानकारी दिनुभयो ।

हिजो मापदण्ड पालना नगर्ने ४ सयभन्दा बढी भाडाका गाडीलाई सम्झाइबुझाइ गरेको पनि महाशाखाले जनाएको छ । स्वास्थ्य मापदण्ड पालना नगरेको वा तोकिएको भन्दा बढी भाडा लिएमा नजिकको ट्राफिक प्रहरी वा ट्राफिक प्रहरीको हटलाइन १ सय ३ मा फोन गर्न पनि महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ढकालले आग्रह गर्नुभयो ।

महाशाखाले यातायात व्यवसायी तथा सञ्चालकहरूलाई बोलाएर गाडीमा यात्रुको सुरक्षामा ध्यान दिन, स्यानिटाइजेसनको व्यवस्था गर्न, नियमित सरसफाइ गर्न, कोचिएर यात्रु नराख्न वा सिट क्षमताअनुसार र मापदण्डअनुसार राख्न सहमति गराएको पनि जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया