एसिड आक्रमण गर्नेलाई २० वर्ष कैद, यस्ताे छ मन्त्रिपरिषदबाट पारित अध्यादेश (पूर्णपाठ)

 असोज ९, २०७७ शुक्रबार २०:१४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले एसिड आक्रमण गर्नेमाथि कडा कारबाही गर्ने गरी कानुन ल्याउन लागेको छ । अध्यादेशमार्फत कानुन संशोधन गरी एसिड आक्रमण गर्नेमाथि २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था गर्न लागेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमण गर्नेमाथि सजाय बढाउने गरी अध्यादेश ल्याएको छ । अब राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि कानुनमा संशोधन गरी लागू हुने छ ।

अध्यादेशमा आँखा, कान, मुख, छाती र यौनाङ्गमा एसिड लागेमा २० वर्ष कैद र दश लाख रुपैयाँ जरिबाना हुने व्यवस्था गरिएको छ । यस्तै शरीरको कुनै अङ्ग भङ्ग वा शारीरिक क्षति भएमा कसुरको प्रकृतिअनुसार पाँच वर्षदेखि १० वर्षसम्म कैद र एक लाखदेखि पाँच लाखसम्म जरिबाना हुनेछ । यस्तै सरकारले पीडितको निःशुल्क उपचार तथा रोजगारको समेत व्यवस्था गर्ने भएको छ ।  

यसअघि सरकारले एसिड पीडितको निःशुल्क उपचार हुने बताइसकेकाे छ । यस्तै उपचारका क्रममा लाग्ने औषधि र आजीवन प्रयोग गर्ने औषधिको सम्पूर्ण खर्च पनि सरकारले नै बेहाेर्ने निर्णय भइसकेकाे छ । यसको संयोजन स्वास्थ्य मन्त्रालयले गर्ने छ ।

यस्तै पीडितलाई निःशुल्क उच्च शिक्षाको व्यवस्था गरिएको छ र यसका लागि शिक्षा मन्त्रालयले व्यवस्था मिलाउने छ । त्यसैगरी क्षमता विकाससम्बन्धी तालिम र सीपको व्यवस्था उद्योग मन्त्रालयले मिलाउने छ भने उद्योग मन्त्रालयले योग्यताअनुसारको रोजगारीका लागि निजी क्षेत्रसँग समन्वय गर्नेछ । त्यसैगरी व्यावसायिक कृषि खेती गर्न चाहे सहुलियत कर्जामा कृषि मन्त्रालयको समन्वयमा अर्थ मन्त्रालयले कर्जा उपलब्ध गराउने छ ।

 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया