जनताकाे सहयाेग भएमात्रै काेराेना नियन्त्रणमा आउन सक्छ : राज्यमन्त्री मानन्धर

 असोज १०, २०७७ शनिबार १८:४५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोराेना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिकले सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभएको छ । 

शनिबार साधना कलाकेन्द्रले काठमाण्डाैमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री मानन्धरले सबै जनताको सहयोग भए मात्रै सरकारले कोराेना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न सक्ने बताउनुभएको हो । 

उहाँले अहिले सरकारले गरेका कामहरुप्रति सबैले आलोचना मात्रै गरिरहेकाले पनि समस्या देखिएको बताउनुभयो । करिब १० लाख मानिसहरुको पीसीआर परीक्षण गर्दा नै अर्बौं रुपैयाँ सकिएको तर नियन्त्रणमा आउन नसकेकाले सबैको सहयोगको आवश्यकता रहेको उहाँको भनाइ छ । 

कार्यक्रममा राज्यमन्त्री मानन्धरले कलाकारिता क्षेत्रको विकासकोे पहिलो आधार एक स्रष्टाले अर्को स्रष्टालाई सम्मान गर्नु नै रहेको बताउनुभयो । कार्यक्रममा राज्यमन्त्री मानन्धरले साधना कलाकेन्द्रले अनलाइनमार्फत आयोजना गरेको गायन प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गर्नुभएको छ । जसमध्ये प्रथम पुरस्कार ललितपुरकी कलाकार रुपा सापकोटाले प्राप्त गर्नुभएको छ । 

दोस्रो पुरस्कार दोलखाकी ममता तामाङ, तेस्रो पुरस्कार विराटनगरका डा. मन्जिल श्रेष्ठ र सान्त्वना पुरस्कार काठमाण्डौका विमल रुचाल र निषादरत्न तुलाधरले प्राप्त गर्नुभएको छ । साधना कलाकेन्द्रले आयोजना गरेको गायन प्रतियोगितामा अनलाइन माध्यमबाट विभिन्न १३ देशमा रहेका कलाकारहरुले सहभागिता जनाएका थिए ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया