'आफ्नो र परिवारको सुरक्षाको लागि मास्क लगाऔँ'

 असोज १२, २०७७ सोमबार १०:३४:४५ | महेश मास्के
unn.prixa.net

काठमाण्डाै -  कोरोना सङ्क्रमणबाट बच्न मास्कको भूमिका निक्कै नै महत्वपूर्ण छ । मास्कको बारेमा पहिलेदेखि नै बहस चल्दै आएको हो ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि मास्कले कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने स्वीकार गर्नुभएको थिएन । तर पछि स्वीकार गर्नुपर्ने स्थिति भयो । हामीले बुझ्नुपर्ने कुरा के छ भने मास्कको प्रयोग गर्नुपर्छ तर अरु सुरक्षाका उपायहरु पनि सँगै अपनाउनुपर्छ । जस्तै साबुनपानीले हात धुने अथवा स्यानिटाइजर प्रयोग गर्ने गर्नुपर्छ ।

मास्कहरु प्रायः सबै सुरक्षित नै हुन्छन् ।  तर त्यसको प्रयोग कसरी गर्ने भन्ने कुरामा भर पर्छ ।  भल्भ भएका मास्क लगाउने व्यक्ति सङ्क्रमित छ भने अरु मान्छेलाई सर्न सक्ने सम्भावना हुन्छ । त्यसैले कतिपय  देशहरुमा भल्भ भएका एन-९५ मास्क ब्यान्ड गरिएको छ ।

नेपालमा पनि त्यसको प्रयोग नहोस् भन्ने नै हो ।  अरु मास्कहरुको बारेमा बुझ्नुपरेमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको वेबसाइटमाहरुमा हेर्न सकिन्छ । संगठनको वेबसाइटमा मास्कको प्रयोग कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिइएको छ ।

विशेषगरी मास्क दुई किसिमको क्याटेगोरी पर्छन् । एउटा मेडिकल र अर्को नन मेडिकल मास्क । नन मेडिकल मास्क कपडाले बनेको तीन पत्रे हुन्छ । अहिले हाम्रो बजारहरुमा पनि यस्तो मास्क उपलब्ध हुन थालेका छन् । यस्तो मास्क पनि सुरक्षित मानिन्छ ।

आम नागरिकको लागि त्यो प्रभावकारी पनि छ । मेडिकल मास्कहरु विशेषगरी स्वास्थ्यकर्मीहरुले लगाउने गर्छन् । त्यसमा पनि भल्भ नभएका एन-९५ सबैभन्दा बढी उहाँहरुले लगाउनुभएको हुन्छ । सङ्क्रमितहरुको हेरचाह गर्नुपर्ने भएकाले यो मास्क स्वास्थ्यकर्मीका लागि उपयुक्त मानिन्छ । 

प्रायःजसो हामीले लगाउने मास्कहरुमध्ये एउटा नाकमाथि दबाएर, थिचेर त्यसलाई कसिलो गर्ने खालको हुन्छ । मास्क लगाउँदा मुखमा एकदमै फिट होस् भन्ने कुरामा ध्यान दिनुपर्छ । मुखबाट मास्क निकाल्दा पनि कानमा लगाउने भागमा मात्र छुने हो । अगाडिको भागमा  छुनु हुँदैन ।  मास्कको प्रयोग गरिसकेपछि डिस्पोज गर्ने खालका मास्कहरु छन् भने डिस्पोज गर्नुपर्छ । कपडाको मास्क छ भने त्यसलाई धुन सकिन्छ ।

भीडभाडमा भएको बेला मास्कको आवश्यकता हुन्छ । मास्क लगाउँदा पनि कम्तीमा तीन फिटको दूरी कायम गर्नुपर्छ । सङ्क्रमण नदेखिएको ठाउँहरुमा मास्कको प्रयोग पनि बिस्तारै घट्दै जान्छन् । तर सङ्क्रमित देखिएका ठाउँहरुमा भने मास्कको प्रयोगलाई अनिवार्य गर्नु नै राम्रो हुन्छ ।

५ वर्षमुनिका बालबालिकाहरुलाई मास्कको प्रयोग गर्न गाह्रो हुन्छ । उनीहरुलाई मास्क लगाउनुपर्ने ठाउँहरुमा लैजानु हुँदैन । घरभित्र हामी मास्कको प्रयोग गर्दैनौँ । सङ्क्रमित भएर घरमै होम आइसोलेशनमा बसेको अवस्थामा भने लगाउनुपर्ने हुन्छ । बाहिरबाट सङ्क्रमण हामीले घरभित्र नल्याऔँ । आफ्नो र परिवारको सुरक्षाका लागि भने मास्कको प्रयोग गरौँ ।   
 

अन्तिम अपडेट: बैशाख २, २०८१

महेश मास्के

जनस्वास्थ्यविद डा. महेश मास्के चीनका लागि पूर्व राजदूत एवं परराष्ट्रविद् समेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया