डस्टबिनमा फालिने कागज र कार्टुन सङ्कलन गर्दै उद्यम

 असोज १३, २०७७ मंगलबार २०:४१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हामीमध्ये धेरैले प्रयोग भइसकेका कागज, कार्टुनलाई फोहोरका रुपमा डस्टबिनमा फाल्छौँ होला ! त्यसले फोहोरको मात्रा त बढाउँछ नै, उचित व्यवस्थापन गर्न नसक्दा वरिपरिको सुन्दरता नै मेटिदिन्छ र वातावरण प्रदूषण गर्छ । तर फालिने यिनै कागजजन्य वस्तुबाट अण्डाको क्यारेट बनाएर स्याङ्जाका महिला उद्यमीले राम्रो आम्दानी गर्न थालेका छन् ।

खेर जाने कागजको सदुपयोग गर्दै स्याङ्जाको पुतलीबजार नगरपालिकामा महिलाहरु राम्रो आम्दानी गरिरहेका छन् । नगरपालिकाको वडा नम्बर ३ मा क्वालिटी प्याकेजिङ प्राली नामको कम्पनी स्थापना गरेर महिलाहरु फालिने कागज, कार्टुनलाई कच्चा पदार्थको रुपमा प्रयोग गरी क्यारेट उत्पादन गरिरहेका छन् ।

स्थानीय तीन जना महिलाहरुले झण्डै डेढ करोडको लगानीमा क्यारेट उद्योग सञ्चालनमा ल्याउनुभएको हो । स्याङ्जामा कुखुरा पालन गर्ने फर्महरु बढेसँगै क्यारेटको माग बढेकाले उद्योग सञ्चालनमा ल्याएको कम्पनीका प्रबन्ध निर्देशक लेखनाथ शर्माले बताउनुभयो । उद्योगले अहिले प्रतिदिन १० हजार क्यारेट उत्पादन गरिरहेकाे र उत्पादित क्यारेट स्याङ्जाका पोल्ट्री फार्मसँगै, पोखरा, बाग्लुङ, लमजुङसम्म बिक्री हुने गरेको छ ।

ग्रामीण क्षेत्रमा उद्योग सञ्चालन गर्दा सरकारी क्षेत्रबाट कुनै सहयोग नभएपछि कच्चा पदार्थ ढुवानीका लागि सडक र उद्योग सञ्चालनका लागि विद्युत् आपूर्तिको व्यवस्थासमेत आफैले गर्नुपरेको उहाँले बताउनुभयो ।

कागज, किताब, कापी, पत्रिका, कार्टुनलगायत कागजका सामग्रीलाई प्रशोधन गरी क्यारेट बनाइन्छ । पानी र कागजलाई मिलाएर मेसिनमा राखेपछि मेसिनले क्यारेट तयार पार्दछ र झण्डै पाँच घण्टा घाममा सुकाएपछि क्यारेट तयार हुन्छ । कम्पनीले फालिने कागजहरु घरघर मै गएर किन्ने गरेको छ । प्रयोगमा आएका कागजजन्य वस्तुहरु फाल्न फोहोरको ट्र्याक्टर कुर्नेहरु अहिले त्यही कागज बिक्री गर्ने गरिएको स्थानीय व्यवसायीहरु बताउँछन् ।

कम्पनीले कागजको गुणस्तर हेरेर प्रतिकिलो १५ देखि २५ रुपैयाँसम्ममा खरिद गरिरहेको छ । फालिने कागजबाट क्यारेट उत्पादन गर्ने उदाहरणीय काम गरेका महिला उद्यमीहरुले कोरोना कालमा पनि ११ महिलासहित १७ जनालाई नियमित रोजगारी उपलब्ध गराइरहेकाे छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया