सरकार चुनाव हारेका व्यक्तिकाे व्यवस्थापनमा केन्द्रीत भयाे : डा‍. बाबुराम भट्टराई

 असोज १७, २०७७ शनिबार १४:४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको ध्यान काेराेना महामारीकाे नियन्त्रणभन्दा चुनाव हारेका व्यक्तिलाई व्यवस्थापन गर्नतर्फ केन्द्रीत भएको आराेप लगाउनु भएकाे छ । 

अहिले कोरोनाका कारण पीडामा रहेका जनताहरुको समस्या समाधानभन्दा सरकार र सत्तारुढ दल चुनाव हारेका व्यक्तिहरुको व्यवस्थापनमा केन्द्रीत भएको उहाँले बताउनुभयो । 

विभिन्न माग राख्दै अनसनमा रहेका विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुलाई भेट्दै भट्टराईले निर्वाचन हारेका व्यक्तिको व्यवस्थापनमा समय खेर फालेर सरकारले गैर-जिम्मेवार भूमिका निर्वाह गरिरहेको बताउनुभयो । 

जनता समाजवादी पार्टीका नेतासमेत रहनु भएका डा. भट्टराईले पार्टी र सर्वोच्च अदालतले समेत आफ्नो समय चुनाव हारेका व्यक्तिको व्यवस्थापन कसरी गर्ने भन्नेमा केन्द्रीत रहेको बताउनुभयो। 

विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार कर्मचारीहरु काेराेनाको बहाना देखाउँदै जागिरबाट निकालेको, राज्यले तोकेको सेवा सुविधा नदिएको भन्दै तीन दिनदेखि रिले अनसनमा रहेका छन।

काेराेनालाई बहाना देखाउँदै जबरजस्ती निकालिएका कर्मचारीलाई निःशर्त पुनर्बहाली गर्नुपर्ने, तोकिएको पारिश्रमिक दिनुपर्ने, जबरजस्ती राजीनामा दिन बाध्य पारिएको, बदनियतपूर्ण सरुवा गर्ने निर्णयहरु खारेज गर्नुपर्ने माग राख्दै विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु आन्दोलित भएका हुन् ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया