पाल्पाको अँधेरी सामुदायिक वनले पायो गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार

 साउन २५, २०७५ शुक्रबार १६:१०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – यस वर्षको गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार पाल्पास्थित अँधेरी छरछरे सामुदायिक वन उपभोक्ता समूहले हात पार्न सफल भएको छ ।

सरकारले प्रदान गर्दै आएको एक लाख नगदसहितको त्यो पुरस्कार वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले पाल्पास्थित अँधेरी छरछरे सामुदायिक वन उपभोक्ता समूहलाई प्रदान गर्नु भएको हो । सामुदायिक वन राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बीच ७५ हजार राशीको गणेशमान सिंह सामुदायिक वन दोस्रो राष्ट्रिय पुरस्कार अर्घाखाँचीस्थित धिरीखोला सामुदायिक वनलाई दिइएको छ । गणेशमान सिंह सामुदायिक वन तेस्रो राष्ट्रिय पुरस्कार भने कपिलवस्तुको वीरपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समितिले प्राप्त गरेको छ ।

त्यसैगरी कवुलियत वन प्रथम राष्ट्रिय पुरस्कार पाँचथरस्थित सितलपोखरी कवुलियती वन समूहलाई प्रदान गरिएको छ । ७५ हजार राशीको नगद पुरस्कार पनि मन्त्री बस्नेतले समूहलाई प्रदान गर्नुभयो । त्यसैगरी ७५ हजार राशीको निजी वन प्रथम राष्ट्रिय पुरस्कार झापा गौरादहका दुर्गाप्रसाद प्रसाईले प्राप्त गर्नु भएको छ ।

यस वर्षको साझेदारी वन प्रथम राष्ट्रिय पुरस्कार कपिलवस्तुको तिलौराकोट साझेदारी वन उपभोक्ता समूहलाई प्रदान गरिएको छ । त्यस पुरस्कारको राशी ५५ हजार ५ सय ५५ रहेको छ । सरकारले यस वर्ष सामुदायिक वन पत्रकारिता पुरस्कार पत्रकारद्वय अब्दुल मियाँ र कोकिला भण्डारीलाई प्रदान गरेको छ । दुवैलाई २५ हजार नगदसहित सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री बस्नेतले पुरस्कृत व्यक्तिहरुले मुलुकको आर्थिक–सामाजिक रुपान्तरणमा अझै महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

सरकारले हरेक वर्ष वन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएकाहरुलाई सम्मान प्रदान गर्दै आएको छ । मन्त्री बस्नेतले सरकारले मुलुकको आर्थिक समृद्धिमा उल्लेखनीय योगदान दिनेहरुलाई सम्मान गर्दै जाने नीति लिएको पनि बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया