हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार

 असोज १९, २०७७ सोमबार १७:३३:२५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – सन् २०२० मा चिकित्सा क्षेत्रको प्रतिष्ठित नोबेल पुरस्कार विजेताको घोषणा गरिएको छ । यस वर्षको यो पुरस्कार हेपाटाइटिस सी भाइरसको खोजी गर्ने हार्भी जे अल्टर, माइकल हटन र चार्ल्स एम राइसलाई दिइने भएको हो । 

नोबेल विश्वको सर्वाेच्च पुरस्कार हो, जुन पुरस्कार चिकित्सासहित शान्ति, साहित्य, भौतिक, रसायन र अर्थशास्त्रको क्षेत्रमा दिइने गरिन्छ ।  

अल्टरले ट्रान्सफ्युजन सम्बन्धी हेपाटाइटिसको अध्ययन गरेका थिए, जसबाट क्रनिक हेपाटाइटिस को एक सामान्य कारण एक अज्ञात भाइरस भएको थाहा भयो । हटनले हेपाटाइटिस सी भाइरसको जीनोमलाई अलग गर्नको लागि एक नयाँ प्रविधिको प्रयोग गरे । त्यस्तै राइसले हेपाटाइटस सी भाइरस एक्लै हेपाटाइटिसको कारण बन्न सक्ने सिद्ध गरे । 
माइकल हटन बेलायती वैज्ञानिक र हार्भी जे अल्टर र चाल्र्स राइस अमेरिकी अनुसन्धानकर्ता हुन् ।

नोबेल पुरस्कार समितिले यो आविष्कारले लाखौँ मानिसको ज्यान जोगाउन सहयोग पुगेको बताएको छ । 

नोबेल पुरस्कारको आधिकारिक ट्विटर ह्याण्डलमा लेखिएको छ, ‘इतिहासमा पहिलो पटक अब हेपाटाइटिस सी भाइरसको उपचार सम्भव भएको छ । यो अनुसन्धानका कारण भाइरसलाई पहिचान गर्न र छुट्टयाउन सकिएकाले दशौँ लाख मानिसको ज्यान जोगिने भएको छ । भाइरसलाई छुट्याउन सकिएपछि विश्वभरि सङ्कलित रगतको परीक्षण गरेर हेपाटाइटिस सी को सम्भावति सङ्क्रमण रोक्न सम्भव भएको छ ।’ 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया