हिन्दू राष्ट्र पुनर्स्थापना गराएरै छाड्छौँ : कमल थापा

 साउन २५, २०७५ शुक्रबार १८:३०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म परिवर्तनको डरलाग्दो डढेलोले मुलुकको धार्मिक, सांस्कृतिक सद्भावमा गम्भीर खलल पुर्‍याएकोले यसलाई रोक्नको लागि र हिन्दू राष्ट्रको पहिचान जोगाउनको निमित्त सबै एक ठाउँमा आउन जरुरी भएको बताउनुभएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा गण्डकी प्रदेश स्तरीय हिन्दू राष्ट्र पुनर्स्थापना जनजागरण अभियानको पोखरामा उद्घाटन गर्दै अध्यक्ष थापाले विदेशीको दबाब र प्रभाव तथा नेपालका केही राजनीतिक पार्टीहरुको सीमित स्वार्थसिद्ध गर्ने चाहनाले नेपाललाई जबर्जस्ती धर्म निरपेक्ष बनाइएको उल्लेख गर्दै राजनीतिक तवरबाट भएको विकृतिलाई सच्याउन राजनीतिक पद्धति नै अपनाउनु पर्ने भएकोले राप्रपाले हिन्दू राष्ट्र पुनर्स्थापनालाई मुख्य एजेण्डा बनाएको स्पष्ट पार्नुभयो ।

पश्चिमा मुलुकहरुले नेपालमा जबर्जस्ती धर्म परिवर्तन गराई आफ्नो अस्तित्व विस्तार गर्न चाहेका र त्यसलाई सहयोग पुर्‍याउन धर्मलाई ‘अफिम’ भन्दै अफवाह फैलाउन उग्र वामपन्थी शक्ति तल्लिन रहे पनि उनीहरुको अभिष्ट कदापि पूरा हुन नदिने अध्यक्ष थापाले ठोकुवा गर्नुभयो ।

राप्रपा गण्डकी प्रदेश कार्य समितिका अध्यक्ष हेमजंग गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई पार्टीका महामन्त्री एवं प्रतिनिधिसभाका सांसद मा. राजेन्द्र लिङदेन, उपाध्यक्ष दिलविकास राजभण्डारी, सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषलगायत विभिन्न धार्मिक गुरुहरुले सम्बोधन गरेका थिए ।   


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया