काठमाडौंका सबै नगर प्रमुखहरुलाई नयाँ शक्तिको पत्र, सार्वजनिक सूचना माग

 साउन २५, २०७५ शुक्रबार १९:३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नयाँ  शक्ति पार्टी, नेपालले काठमाडौं जिल्लाका सबै नगरपालिकाका प्रमुखलाई सार्वजनिक सूचना माग गर्दै पत्र बुझाएको छ । 

नयाँ शक्ति पार्टीको काठमाडौं जिल्ला समन्वय समितिले काठमाडौंं महानगरपालिका लगायतका काठमाडौं जिल्लाका सबै नगर प्रमुखहरुलाई सूचना माग गर्दै पत्र बुझाएको हो ।

शुक्रबार काठमाडौं महानगरपालिकाको कार्यालयमा पार्टीको काठमाडौं जिल्ला समन्वय समिति र महानगर समितिको तर्फबाट सूचनाको माग गर्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई पत्र बुझाइएको छ । पत्रमा महानगरपालिका अन्तर्गतका सम्पूर्ण विभाग, वडा, महाशाखा, आयोजना, इकाई, कार्यक्रमहरुको आर्थिक वर्ष २०७४-०७५ को महानगर परिषदबाट पारित बजेट शीर्षक अन्तर्गतका प्रत्येक योजना तथा कार्यक्रमको आर्थिक तथा भौतिक प्रगति, आय र व्ययको पूर्ण विवरण, सम्पूर्ण मालसामान जिन्सी सामग्री, निर्माण कार्य, परामर्श सेवा तथा अन्य खरिद तथा भुक्तानीको पूर्ण विवरण माग गरिएको छ । अरु नगरपालिकाका प्रमुखहरुलाई पनि यही व्यहोराको पत्र बुझाइएको छ ।

पत्र बुझ्दै प्रमुख शाक्यले नयाँ  शक्तिको सुझावलाई सकारात्मक रुपमा ग्रहण गरेको र आफूले महानगरबासीको समस्या समाधान गर्ने बताउनुभयो । उहाँले राजपत्र प्रकाशित भएपछि सबै सूचनाहरु महानगरबासीलाई जानकारी गराउने बताउनुभयो । मेयर शाक्यले महानगरबासीको काम वडाबाट हुने प्रक्रिया चलिरहेको जानकारी गराउनुभयो ।

पत्र बुझाउँदै काठमाडौं जिल्ला समिति संयोजक मानुषी यमी भट्टराईले स्थानीय सरकार र महानगर प्रमुखको बारेमा नकारात्मक टिकाटिप्पणी हुनु सुखद् नभएको भन्दै प्रमुख शाक्यलाई आलोचित हुने कार्य नगर्न सुझाव दिनुभयो ।

‘स्थानीय सरकार र महानगर प्रमुखलाई हामी सहयोग गर्न चाहन्छौं’, संयोजक मानुषीले भन्नुभयो, ‘हामीले पारदर्शीताको कुरा गरिरहेका छौं । २०७४-७५ को हिसाबलाई पारदर्शी रुपमा सार्वजनिकगर्नुपर्छ । जनताले स्थानीय सरकार र प्रमुखको धेरै आलोचना गरिरहेका छन् । हामी यसरीआलोचना भएको सुन्न चाहँदैनौं । त्यसैले प्रमुखले महानगरवासीलाई विश्वास दिलाउने काम गर्नुपर्छ ।’ महानगरले सही सूचना नदिँदा कार्यालयमा पुगेपछि सेवा सुविधाको विषयमा विवाद भइरहेको भन्दै उहाँले महानगरले सबैलाई सहज ढंगले सूचित गर्नुपर्ने, करलगायत जनताको सेवा सुविधाको बारेमा महानगरले पहिला नै सूचना दिनुपर्ने बताउनुभयो ।

पार्टीको काठमाडौं महानगर समिति संयोजक शोभा बज्राचार्यले प्रमुख शाक्यलाईकाठमाडौं महानगरले २१, २२, २६, र ३२ वडाका स्थानीयलाई विभेद गरेको गुनासो गर्नुभयो । उहाँले महानगरबासी सबैलाई समान व्यवहार गर्न आग्रह समेत गर्नुभयो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया