बेहोसीबाट होसमा फर्कंदा फर्कंदै फेरि बेहोस !

 असोज २४, २०७७ शनिबार ९:४२:४६ | मिलन तिमिल्सिना
unn.prixa.net

आजभोलि सरकारका मान्छेका कुरा र काम होसमा कम र बेहोसीमा बढी भइरहेका छन् । 

उनीहरु अलिअलि होसमा हुँदा नागरिक चाहिँ बेहोसमा हुन्छन्, नागरिक अलिअलि होसमा आउन खोज्दा उनीहरु बेहोस बन्छन् । अहिले फेरि सरकारका मान्छे बेहोसमा कुरा गर्न थालेका छन् । सरकारका कुराले नागरिकलाई घरि होस फिराउन खोज्दैछ र घरि बेहोस गराउँदैछ ।

बेहोसमा कुरा गर्ने क्रममा स्वास्थ्यका प्रवक्ताले भने : बेहोस भएपछि मात्र अस्पताल जानू ! अनि कोरोनाले रन्थनिएर बेहोस भैसकेका नागरिकलाई यो कुराले होसमा ल्याएको छ । अनि सबै भन्दैछन् : त्यसो भए बेहोस चाहिँ कसरी हुने त ?

स्वास्थ्य प्रवक्ताले होसमा बोलेको बेहोसी कुराले धेरैको दिमाग रन्थनिएको छ । कोरोनाले बेहोस भएर होसमा फर्कन लागेकाहरुलाई फेरि बेहोस हुनुपर्ने बाध्यता थपिएको छ । अस्पताल जानकै लागि बेहोस हुनुपर्ने भएपछि मान्छेका मनमा थरीथरीका प्रश्न र जिज्ञासा उब्जिएका छन् । 

पहिलो कुरा त अस्पताल जानै पर्यो भने त्योभन्दा पहिले बेहोस कसरी हुने ? बेहोस भैसकेपछि अस्पताल कसरी जाने ? साथमा अरु मान्छे पनि छन् भने त लौ है बेहोस भएपछि अस्पताल लैजानु भनेको छ भनेर जसोतसो अस्पताल लगिदेलान्, तर एक्लै हुँदा बेहोस भए के मा अस्पताल जाने ? कसरी अस्पताल पुग्ने ? आफैं जाने कि अरु कसैले लगिदिन्छन् ? अनि बेहोस भएको मानिसलाई अस्पताल पुर्याउनेबित्तिकै होस आइहाल्यो भने उपचार गर्ने कि फर्काएर घर लैजाने ? उपचार भइहाल्यो भने फेरि होसमा फर्कने ग्यारेन्टी कति छ ? 

बेहोस भएर अस्पतालसम्म पुग्ने र अस्पतालमा पुगेपछि फेरि फर्कने ग्यारेन्टी नभए पनि बेहोस बनाउन सक्ने ग्यारेन्टी चाहिँ जताततै मिल्छ । बेहोस हुनको लागि अरु धेरै गर्नै पर्दैन, एकपटक स्वास्थ्य प्रवक्ताको अनुहार हेरे र उहाँले बोलेको संवाद सुने मात्रै पुग्छ । बेहोस हुन लागेमा या बेहोस भैसकेपछि मात्रै अस्पताल जानू भन्ने कुरा दोहोर्याएर सुन्नेबित्तिकै बेहोस भइन्छ ।

स्वास्थ्य प्रवक्ताको कुरा मात्रै होइन, स्वास्थ्य मन्त्रालयभित्र जताततै बेहोस बनाउने दबाइ छन् । कोरोनाको नाममा भएका भनिएका भ्रष्टाचार र कमिसनका जालो सम्झे पनि सबैको होस हराउँँछ । यति गर्दा पनि बेहोस भइएन भने अर्को उपाय पनि छ । हातमा झोला बोकेर खाद्यान्न र तरकारी पसल पुग्नुहोस् । दुई चारवटा सामानको भाउ सोध्नुहोस् । पसलेले एउटै सामानको भाउ भनिसक्दा तपाईं बेहोस भएर ढल्नुहुन्छ । बेहोस भएकालाई पसलेले अस्पताल पुर्याउने ग्यारेन्टी त हुँदैन, तर तपाईंलाई बेहोस गराउने ग्यारेन्टी चाहिँ शतप्रतिशत नजिकको पसलबाटै मिल्छ ।

कोरोनाका कारण स्कुल क्याम्पस नखुलेर घरमै बसेका विद्यार्थीलाई त बेहोस हुन झन् सजिलो छ । पढ्न जान नपरेपछि पढाइ र परीक्षाका सबै कुरा बिर्सिसक्यो । अब दशैँ तिहारपछि परीक्षा हुन्छ । बिर्सिसकेको परीक्षा कसरी दिने ? पढ्दै नपढेको प्रश्नको के जवाफ दिने ? परीक्षा सम्झनेबित्तिकै बेहोस हुन सक्छ । सम्झँदा भएन भने पनि परीक्षाको लागि हलमा पसेर प्रश्नपत्र हेर्नेबित्तिकै चाहिँ शतप्रतिशत बेहोस हुने ग्यारेन्टी छ ।

बेहोस हुनको लागि त्यति धेरै उपाय सोचिरहन पर्दैन । सरकारको चालामाला र काम गराइ देखेरै पनि बेहोस भइन्छ । कोरोना भगाउने झारबुटी र बेसारपानीको कुरा सुन्दैमा बेहोस भइन्छ । प्रधानमन्त्रीले भाषण गर्न थालेलगत्तै हाँसेर बेहोस भइन्छ । मन्त्री र अरु सरकारी मान्छेका पारा सम्झेरै बेहोस भइन्छ । कोरोनाको कुरा गर्न स्वास्थ्य मन्त्रालयले हरेक दिन गर्ने पत्रकार सम्मेलन हेरेरै बेहोस भइन्छ । सरकारी मान्छेका ढङ्ग न बेढङ्गका कुरा र काम देखेरै बेहोस भइन्छ । 

देशै लथालिङ्ग र भताभुङ्ग भएपछि नागरिकको होस कहाँ बाँकी रहला र ! तै पनि सरकारका मान्छे अस्पतालमा उपचार गर्न बेहोसीको प्रमाणपत्र खोज्छन्, नागरिक बेहोस हुने उपाय सोच्छन् । कुनै दिन सडकको भित्ता र बिजुलीको पोलमा देख्न पाइएला - ‘यहाँ शुपथ मूल्यमा बेहोस बनाइन्छ ।’

प्रायः कोही पनि होसमा नभएको देशमा बेहोस हुने उपाय धेरै छन् । तर सरकारले बेहोस हुन नदिन अनेक छलकपट गर्न खोज्दैछ । दशैँको सरसामान किन्न बजार जाँदा धेरै बेहोस हुन्थे । तर सरकारले पहिले जसरी दशैँ नमनाउनू भनिसक्यो । पिङ मच्चाउँदा बेहोस हुने सम्भावना हुन्थ्यो । तर सरकारले सार्वजनिक ठाउँमा पिङ नहाल्न भनिसक्यो । 

बेहोस हुन नदिने र बेहोस हुन खोज्ने बेहोसी कुरा सुनेर र पढेर तपाईं पनि बेहोस हुन खोज्नुभयो होला । बेहोस भए त ठिकै छ, अस्पतालमा उपचार मिल्ला । नभए पनि केही छैन, केही नहुँदासम्म त पक्कै होस आफै बेहास् नहोला नि !

अन्तिम अपडेट: चैत ११, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया