डा. केसीको स्वास्थ्यमा सरकार गम्भीर नभएको केसी पक्षका वार्ता टोलीको आरोप

 असोज २४, २०७७ शनिबार ११:५४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - डा. गोविन्द केसीको स्वास्थ्यप्रति सरकार गम्भीर नभएको केसी पक्षका वार्ता टोलीले आरोप लगाएको छ ।

अस्ति बिहीबार सरकार र डाक्टर केसी पक्षबीच भएको छलफल सहमति नजिक पुगेको भए पनि राजनीतिक नेतृत्व सहमतिबाट पछि हटेको केसी पक्षका वार्ता टोलीका संयोजक जीवन क्षेत्रीले आरोप लगाउनुभयो । उहाँले विज्ञप्ति निकालेर औपचारिक र अनौपचारिक छलफलका क्रममा सरकारी वार्ता टोलीसँग भएको सहमति राजनीतिक नेतृत्वले नमानेपछि गएराति अबेर भएको वार्ता भाँडिएको दाबी गर्नुभएको छ ।

उहाँले डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको भन्दै बिहीबार भएको वार्ताका समझदारीलाई औपचारिकता दिएर कार्यान्वयन सुनिश्चितताका लागि मन्त्रिपरिषदबाट पारित गर्न पनि सरकारसँग माग गर्नुभएको छ । तर सरकारी वार्ता टोलीले भने केही बुँदामा थप छलफल गर्नुपर्ने भएकाले राति निश्कर्ष ननिस्किएको बताएको छ ।

सरकारी टोलीले आज फेरि केसी पक्षसँग वार्ता गर्ने बताएको छ । यसैबीच डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उहाँको मुटुमा हरेक मिनेटमा असामान्य धड्कन देखिएको उपचारमा संलग्न स्वास्थ्य टोलीका संयोजक डाक्टर सुवासप्रसाद आचार्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार असामान्य धड्कन बढ्दै जाँदा मुटुको चालमा गडबड भएर मुटुले कामै गर्न नसक्ने अवस्था आउँन सक्छ । यस्तै उहाँको छातीमा समस्या देखिएकाले रेडियोलोजिस्टसँग थप सल्लाह लिन लागेको उहाँको भनाइ स्वास्थ्यस्थिति निकै जटिल भएकाले जोखिम बढ्न नदिनका लागि आईसीयूमा भर्ना हुन डाक्टरले आग्रह गरेपछि डाक्टर केसीले अस्वीकार गर्दै आउनुभएको छ । 

डाक्टर केसी १९ औं पटक अनशनमा बस्नुभएको आज २७ दिन पुगेको छ । उहाँले सरकारसँग ०७५ साउन १० गते गरिएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएममा वरिष्ठता मिचेर गरिएका नियुक्ति सच्याउनुपर्ने र बयलपाटा अस्पताललाई नियमित र आवश्यक बजेट व्यवस्था गरी निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने लगायत ६ बुँदे माग राख्नुभएको छ ।

उहाँको माग शिक्षा, स्वास्थ्य मन्त्रालय, आयोग र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित छन् । गएको भदौ २९ गते डाक्टर केसीले जुम्लाको धर्मशालामा अनशन सुरु गर्नुभएको थियो । पछि काठमाण्डौ ल्याइएका उहाँ अहिले शिक्षण अस्पताल महाराजगन्जमा अनशनमा हुनुहुन्छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया