ओभरस्टेबापतको १९ लाख रुपैयाँ माफ भएसँगै यूएईबाट ६ महिनापछि फर्किए अलपत्र १५ नेपाली

 असोज २६, २०७७ सोमबार ११:१४:४३ | उमाकान्त पाण्डे

यूएई – दुबईमा ओभरस्टे अर्थात भिसाको अबधी सकिएको कारण लागेको जरिबाना तिर्न नसकेर अलपत्र १५ जना नेपाली स्वदेश फर्किएका छन् ।  

ओभरस्टेका कारण तिर्नुपर्ने झन्डै ६० हजार दिर्हाम (१९ लाख रुपैयाँ) नेपाली दूतावास यूएईको पहलमा मिनाहा भएपछि उनीहरु आइतबार नेपाल फर्किएका हुन् । यसरी नेपाल फर्किएका १५ जनामा नुवाकोटका अर्जुन माझी र अनिल कुमार तामाङ, खोटाङका भुपेन्द्र र बिनोद राई, बिष्णुकुमार बस्नेत र मकवानपुरका मानबहादुर मोक्तान रहेका छन् । 

त्यस्तै सर्लाहीका गुल मोहम्मद र सम्सुर मन्सुर, रुकुमका नवीन र भुपेश परियार , सिन्धुपाल्चोकका साजन श्रेष्ठ, ताप्लेजुङका कुर्वा शेर्पा, दोलखाका सुमन मगर, पाल्पाका खेमबहादुर बकावल र अर्घाखाँचीका कृष्णबहादुर गन्धर्व पनि सँगै फर्किएका हुन् ।

दुबईको डिआपीमा रहेको फेलेक्स म्यानेजमेण्ट कम्पनीमा काम गर्दै आएका उनीहरुको गएको मार्च १५ मा कम्पनीले भिसा रद्द गरिदिएको थियो । कोरोनाका कारण भएको लकडाउनका करण उडान नहुँदा उनीहरु समयमै नेपाल फर्कन पाएका थिएनन्। उडान नभएकाले समयमै नेपाल फर्किन नपाउँदा अवैधानिक (ओभर स्टे) भएर बस्न बाध्य भएका उनीहरुलाई गएको अगस्ट १० मा नेपाल फर्किन भन्दै कम्पनीले दुबई एयरपोर्ट पुर्‍याएको थियो ।

तर जरिबाना तिर्न नसक्दा उनीहरु विमानस्थलमै अलपत्र परेका थिए । कम्पनीले विमानस्थल पुर्‍याएर छाडिदिएपछि अलपत्र परेका उनीहरुलाई नेपाली समाज र एनआरएनए यूएईले खाने बस्ने व्यवस्था गर्दै आएका थिए ।

लामो समयसम्म पनि उद्धार हुन नसक्दा पीडित झन समस्यामा पर्दै गएपछि नेपाली दूतावासले श्रम काउन्सिलर निर्मला थापाको नेतृत्वमा स्थानीय जनसम्पर्क अधिकृत (पीआरओ) इरफान आलमले यूएईका विभिन्न स्थानीय निकायहरुसँग समन्वय गरेर जरिवाना मिनाह गराउन सम्भव भएको दूतावासले जनाएको छ । 

ओभरस्टे बापतको शुल्क हेर्ने दुबईको अलवार्सनमा रहेको अध्यागमन शाखामा पुगेर दूतावासका प्रतिनिधिले गरेको प्रयासले पीडितहरु नेपाल फर्किन पाएको नेपाली समाज यूएईका महासचिव बेदप्रसाद अर्याल पाल्पालीले बताउनुभयो ।

नेपाली दूतावासले जरिवाना बापतको शुल्क मिनाहाका लागि र नेपाली समाजले कोरोनाको पीसीआर परीक्षणका लागि दुबईको आस्तर हस्पिटलसँगको समन्वयमा निःशुल्क गराएपछि उनीहरुलाई नेपाल फर्किन सहज भएको हो ।

 यसअघि नेपाल एयरलाइन्सको टिकट काटेर तोकिएको समयमा फर्किन नपाएका उनीहरुलाई एअरलाइन्सले पहिले काटेकै टिकटमा नेपाल फर्काएको एअरलाइन्सका यूएई प्रमुख टिकाराम पंगेनीले जानकारी दिनुभयो ।

कोरोनाका कारण त्याे कम्पनीमा नियमित काम हुन नसकेर ३ सय ५८ जना नेपालीले रोजगारी गुमाएका थिए । काम गुमाएका उनीहरुलाई दूतावास साथै सामाजिक संघ संस्थाले खाना तथा अन्य सहयोग गर्दै आएका थिए । ३ सय ५८ जनामध्ये ३ सय ४१ जना यसअघि नै नेपाल फर्किसकेका छन्। बाँकी १७ जनामध्ये दुई जनाले फेरि यूएईमै अरु काम थालेको र आइतबार १५ जना फर्किएका हुन् ।

आएको केही महिनामै रोजगारी गुमाएर समस्यामा पर्दै आएका उनीहरुलाई नेपाल फर्किएपछि काठमाण्डौबाट घरसम्म पुग्ने यातायात खर्च नेपाली मजदुर एकता समाजका नेपाल समिति अध्यक्ष निमा लामाले प्रदान गर्नुभएको थियो।

अन्तिम अपडेट: बैशाख ५, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया