विप्लव समूहलाई राजनीतिक व्यवहार गर्नुपर्छ : डाक्टर भट्टराई

 साउन २६, २०७५ शनिबार १८:१०:३० | किरण लोहनी

गोरखा – नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले नेत्रबिक्रम चन्द ‘विप्लव ’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेतालाई सरकारले पक्राउ गरेकोमा असन्तुष्टि जनाउनु भएको छ ।

राजनीतिक पार्टीलाई राजनीतिक व्यवहार गर्नु पर्नेमा अपराधीजस्तो व्यवहार गरिएको भन्दै उहाँले असन्तुष्टि जनाउनु भएको हो । दुई साता लामो युरोप भ्रमणपछि गृह जिल्ला गोरखा आउनु भएका भट्टराईले त्यो पार्टीको सोच सही नभए पनि राजनीतिक शक्ति भएकोले राजनीतिक व्यवहार गर्नु पर्नेमा जोड दिनुभयो ।

‘राणाशासनको बिरोध कांग्रेसले गर्यो, हामीले पनि सरकारविरुद्ध १० वर्ष लामो युद्ध गरेकै हो’, उहाँले भन्नुभयो, ‘अन्ततः सबै समस्याको हल राजनीतिक रुपमै भयो ।’ उनीहरूलाई पहिल्यै अपराधी करार गर्ने गरी हत्कडी लगाइएकोमा भट्टराईले सरकारको आलोचना गर्नुभयो ।

भट्टराईले सरकारले मागेरै देश चलाउन खोजेको पनि आरोप लगाउनुभयो । संघीयता कार्यान्वयनका लागि सरकारले विदेशी सहयोग मागेको बारे सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, ‘हुन त हाम्रो देश मागेरै चलेको छ, सबै कुरामा माग्नु हुन्न, बरु एक्जिम बैंक लगायतसँग सफ्ट लोन लिएर उत्पादनमूलक काममा लगाउनु पर्छ ।’

सरकारको काम गराइका कारण नागरिकले वर्तमान सरकारको विकल्प खोज्ने अवस्था आउन लागेको भट्टराईको भनाई छ । शंकाको सुविधासहित सरकारको काम गराइलाई २र३ वर्ष हेर्नू पर्छ भन्ने आफ्नो मान्यता रहे पनी ५र६ महिनामै निराश हुनुपर्ने अवस्था आएको उहाँको टिप्पणी छ । ‘१४ वर्ष जेल परेको प्रधानमन्त्री, त्यत्रो लामो बिद्रोह गरेको पार्टी सरकारमा छ, तर उहाँहरूले केही गर्न सक्नु हुन्न भन्ने छोटो समयमै देखियो ।’

मूल्यवृद्धि नियन्त्रण, भ्रस्टाचार, कालोबजारीलगायत नियन्त्रणमा सरकारले काम गर्न नसकेको भट्टराईले आरोप लगाउनुभयो । ‘सुरुमा त केही आशावादी काम भयो, तर आसेपासेहरूले दवाव दिएपछि सरकारले सुरु गरेका काम पनि गर्न सकेन ।’

काम नगर्ने ठेकेदारलाई कारबही, सिन्डिकेट अन्त्यलगायत काम सकारात्मक भए पनि त्यसको कार्यान्वयनबाट सरकारपछि हटेको उहाँको भनाई छ । ‘अस्थिरता आओस् भन्ने त होइन, तर छोटो अवधिमै सरकारको बिकल्प खोज्ने अवस्था आयो’, भट्टराईले भन्नुभयो । 

स्थानीय सरकारहरूले जनतालाई कर थोपरेको विषयमा पनि भट्टराईले असन्तुष्टि जनाउनुभयो । केन्द्र सरकारबाट थोरै अनुदान गएकाले पनि स्थानीय सरकारले कर बढाएको हुन सक्ने उहाँको भनाई छ । 

‘संघीयता हामीलाई आवश्यक छ, त्यसबाट बिमुख हुन सकिन्न तर बढ्दो करले नागरिकलाई संघीयताले सकस दियो’, भट्टराईले भन्नुभयो, ‘राज्यस्रोतको दोहन गर्ने चरित्र तल्लो तहसम्म पुग्यो, शीर्ष नेताको देखासिकी तलकासम्मले गरे, त्यसले राम्रो संकेत गरेको छैन ।’

कर बढाउनुको सट्टा केन्द्रीय बित्त आयोग गठनका लागि स्थानीय सरकारका प्रतिनिधिले दवाव दिनुपर्नेमा भट्टराईको जोड छ ।

‘भर्खरै जन्मेको बच्चालाई हुर्काउन, खुवाउन, पिलाउन खर्च त चाहिन्छ, संघीयता कार्यान्वयन खर्चिलो त हुन्छ तर नागरिकलाई मार पार्नु भएन, बच्चा जन्मिँदैमा हजार पन्ध्र सय कर लगाउने अवस्था आउनु भएन ।’

युरोपका विभिन्न पूँजीवादी देशको भ्रमण गरेर फर्किनु भएका भट्टराईले पत्रकार भेटघाटमा ती देशको अनुभव पनि सुनाउनुभयो। रुस, फ्रान्स, स्विडेनलगायत देशको उदाहरण दिँदै उहाँले भन्नुभयो, ‘एकदलीय अधिनायकवादबाट समाजवाद प्राप्त हुँदैन भन्ने प्रशस्त उदाहरण ती देशहरूमा देखियो । पहिले कम्युनिष्ट शासन भएका देशमा पनि लोकतान्त्रिक समाजवादको उन्नत गुण देखियो ।’

नयाँ वैकल्पिक राजनीतिक शक्तिको बहस अहिले विश्वव्यापी अभियानकै रुपमा अघि बढेको भन्दै भट्टराईले नयाँ शक्तिलाई अघि बढाउने थप राजनीतिक खुराक युरोप भ्रमणबाट मिलेको बताउनुभयो ।

भट्टराईले शनिबार नै गोरखा दरवार पुननिर्माणको अवस्थाबारे जानकारी लिनुभयो । ठेकेदारको कमजोरीका कारण दरवार पुननिर्माणको काम रोकिएकोमा उहाँको असन्तुष्टि जनाउनुभयो । ‘यो नेपालको भौगोलिक एकीकरण सुरु भएको स्थल हो, गोरखा दरवारले विश्वभरका मान्छेलाई आकर्षण गर्न सक्नुपर्छ, कुनै बहानामा  पुनर्निर्माणमा अलमल हुनुहुन्न’, भट्टराईले भन्नुभयो ।

गोरखा दरवारलाई विश्व सम्पदा सूचीमा राख्न आफूले पहल गर्ने उहाँको भनाई छ । 


 

अन्तिम अपडेट: चैत ९, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया