काठमाडौंमा १७ वटा ‘स्मार्ट’ बस चल्दै

 साउन २७, २०७५ आइतबार ८:४६:३० | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – दीगोे शहरी यातायात प्रालिले रत्नपार्कदेखि नयाँ बसपार्कसम्म १७ वटा नयाँ बस सञ्चालनमा ल्याउने भएको छ । आउँदो २८ गते बस सञ्चालनमा ल्याउने गरी तयारी भैरहेको प्रालिका सचिव लालपसाद गुरागाईंले जानकारी दिनुभयो ।

जेठ अन्तिम हप्ता नै सञ्चालनमा ल्याउने भनिए पनि विभिन्न कारणले ढिलाई भएको सचिव गुरागाईंले जानकारी दिनुभयो ।

दीगो सहरी यातायात आयोजना अन्तर्गत काठमाडौंमा निर्धारण गरिएका ६६ वटा रुटमध्ये अहिले रत्नपार्क – नयाँ बसपार्क रुटमा गाडी चलाउन लागिएको हो ।

बस नयाँबसपार्कबाट गोंगबु चोक, गल्कोपाखा चोक, लैनचौर, केशरमहल, जमल, तीनधारा पाठशाला, कमलपोखरी, ज्ञानेश्वर, मैतीदेवी, पुरानो वानेश्वर हुँदै सिनामंगल पुग्नेछन् । यस्तै फर्कदा सिनामंगल, पुरानो बानेश्वर, मैतिदेवी, डिल्लीबजार, बागबजार, रत्नपार्क, भद्रकाली, शहिदगेट, जमल, लैनचौर, गल्कोपाखा चोक, गोंगबु चोक हुँदै नयाँ बसपार्क पुग्नेछन् । १० किलोमिटरको यो रुटमा जाम नभएको खण्डमा आधा घण्टामा बस गन्तव्यमा पुगिसक्ने प्रालिले जनाएको छ ।

प्रालिका अनुसार बस युरो ४ मापदण्ड भित्र रहेर निर्माण गरिएका छन् । सहरी विकासको मान्यताअनुसार यातायातमा युरो ४ को मापदण्ड राम्रो मानिन्छ । ५० यात्रु क्षमताको बसमा २४ वटा सिट छन् । अपाङ्ग मैत्री यी बसमा एउटा ह्विलचियर बेस पनि छ । यात्रुहरुले विद्युत्तीय कार्डबाट पनि भाडा तिर्न सक्ने व्यवस्था गरिएको छ । गाडी कहाँ पुग्यो भनेर थाहा पाउन मोबाइल एप्स प्रयोग गरिने सकिने कम्पनीले जनाएको छ ।

यस्तै यी गाडीहरुमा सीसीटीभी र ट्राफिक सेन्सर पनि जडान गरिएका छन् । यी बसहरु आफ्नो निश्चित बस स्टप बाहेक अरु ठाउँमा रोकिने छैनन् । नयाँ बसपार्कदेखि सिनामंगल पुग्नसम्म जम्मा २९ वटा बस स्टपमा गाडी रोकिने कम्पनीको भनाई छ ।

प्रालिका सचिव गुरागाईंका अनुसार सरकारले निर्धारण गरेअनुसार भाडादर तोकिएको छ । यो रुटमा बढीमा २५ रुपैयाँसम्म भाडा पर्ने उहाँले बताउनुभयो ।

यस रुटमा चल्दै आएका ७१ वटा माइक्रो तथा ट्याम्पोहरु विस्थापन गरेर यी बस चलाउने निर्णय यातायात व्यवस्था विभागले गरेको हो । यस रुटमा चल्दै आएका माइक्रो र ट्याम्पोहरुलाई ‘टर्सरी रुट’मा सारिने सम्झौता भएपछि दिगो यातायात प्रालिलाई बस सञ्चालनमा ल्याउन रुट पर्मिट दिएको यातायात व्यवस्था विभागले बताएको छ ।

एसियाली विकास बैंकको सहयोगमा बनेको काठमाडौं दीगो सहरी आयोजनाले काठमाडौंमा नयाँ रुटको बारेमा अध्ययन गरेको थियो ।

जसमा प्राइमरी, सेकेण्डरी र टर्सरी गरी तीन प्रकारका रुट विभाजन गरिएका छन् । यही आधारमा प्राइमरीलाई ‘पी’ रुट, सेकेण्डरीलाई ‘एस’ रुट र टर्सरीलाई ‘टी’ रुट भनेर नामाकरण गरिएको छ । अहिले एस रुटमा गाडी सञ्चालन हुन लागेको हो ।

१० मिटर भन्दा चौडा सडक भएको र दैनिक एकलाख यात्रु आवत–जावत गर्ने आठ ओटा रुटलाई प्राइमरी रुटमा राखिएको छ । जसमा ८० सिट क्षमताका गाडीहरु सञ्चालन हुनेछन् । त्यस्तै, ६ मिटरदेखि १० मिटरसम्म चौडाई भएको र ५० हजारदेखि एक लाखसम्म यात्रु आवातजावत गर्ने १६ वटा रुटलाई सेकेण्डरी रुटमा राखिएको छ ।

जसमा ४० देखि ६० सिट क्षमताका गाडीहरु कुद्नेछन् ।  ६ मिटर भन्दा कम चौडाई भएका ४२ वटा साना गल्लीहरुलाई टर्सरी रुटमा राखिएको छ । जसमा माइक्रो तथा ट्याम्पोहरु चल्नेछन् । आयोजानाले नयाँ रुट प्रणालीको अध्ययन गरे पनि सरकारले यसबारेमा खासै चासो नदेखाउँदा कार्यान्वयन हुन नसकेको योजनाका इञ्जिनियर शरद आचार्यले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २७, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

2 Comments

  • Kamal dhami

    Aug. 12, 2018, 12:12 p.m.

    यो बस सेवा नयाँ बस पार्क भन्दा आझै आगडी बानियाटार सम्म चलाउन पाए राम्रो हुन्थ्यो । त्यो रत्नपार्क को लाइनमा कुरेर बस्नुपर्ने झन्झट कम हुन्थ्यो अनि संचालक लाई नि राम्रो कमाइ !!!

  •  0 Reply
  • Amrit

    Aug. 12, 2018, 11:24 a.m.

    Very good plan, ,, keep it up .

  •  0 Reply

तपाईको प्रतिक्रिया