कोरोना सङ्क्रमितको उपचारमा धरौटी नलिन सरकारी अस्पताललाई सरकारको निर्देशन

 कात्तिक १६, २०७७ आइतबार १६:५१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कोरोना सङ्क्रमितको उपचारको लागि धरौटी रकम नलिन सरकारी अस्पताललाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सक्नेबाट शुल्क लिने र नसक्नेलाई निःशुल्क उपचार गर्ने सरकारको निर्णय यथावत् रहेको भन्दै अस्पतालहरुलाई धरौटी नलिन निर्देशन दिइसकेको बताउनुभयो ।

कतिपय अस्पतालहरुले धरौटीसम्बन्धी सूचना निकालेको भन्दै विरोध भइरहेका बेला प्रवक्ता गौतमले धरौटीसम्बन्धी सूचना निकाल्ने अस्पतालहरुलाई स्पष्टीकरण सोधिसकेको बताउनुभयो । उहाँले नसक्नेहरुका लागि स्वघोषणाको आधारमै निःशुल्क उपचार गराउन यसअघि नै दिएको निर्देशन यथावत् रहेको पनि बताउनुभयो ।

यस्तै सरकारले होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितलाई सहयोग तथा कन्ट्याक्ट ट्रेसिङका लागि सहजीकरण गर्न सबै पालिकाहरुलाई निर्देशन दिएको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यस्तै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेहरुको सङ्ख्या फरक–फरक आएको सम्बन्धमा छानबिन गर्न स्वास्थ्य मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेर काम भइरहेको पनि प्रवक्ता गौतमले बताउनुभयो ।   

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया