लाङटाङ पदमार्गमा सञ्चालनमा रहेका होटल आजदेखि बन्द

 कात्तिक १८, २०७७ मंगलबार ९:१५:६ | हिमनाथ देवकोटा
unn.prixa.net

रसुवा - लाङटाङ पदमार्गमा सञ्चालनमा रहेका होटल आजदेखि बन्द भएका छन्। 

कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ४ को होटल व्यवसाय समितिको आग्रहमा होटल बन्द गरिएको हो । कोरोना सङ्क्रमितको संख्या बढ्दै गएकाले केही महिनासम्म होटल, लज तथा चिया पसल बन्द गरिएको वडा कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार पदमार्गको रिम्छे, लामा होटल, रिभर साइड, घोडा तबेला, गुम्बा डाँडा, लाङटाङ, मुण्डुप, क्यान्जिनलगायतका क्षेत्रमा  रहेका होटल, लज तथा चिया पसल बन्द भएका हुन् । क्यान्जिनका पर्यटन व्यवसायी ग्याल्बु लामाका अनुसार पछिल्लो समय दैनिक ६० जनासम्म नेपाली पर्यटक आइरहेका थिए । जिल्लामा आएका पर्यटकमध्ये ९० प्रतिशत पर्यटक लाङटाङ जाने गरेका छन् । 

जिल्लामा अहिले कोरोना सङ्क्रमितको संख्या १ सय ६ पुगेको छ । जसमा ४५ जना सक्रिय सङ्क्रमित छन् ।

अन्तिम अपडेट: कात्तिक २३, २०७७

हिमनाथ देवकोटा

रसुवाका पत्रकार हिमनाथ देवकोटाका उज्यालोका पनि जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया