गड्डाचौकी भएर भारत ओहोर–दोहोर गर्ने नाका अवरुद्ध

 साउन २७, २०७५ आइतबार १९:३७:० | रासस
unn.prixa.net

कञ्चनपुर – महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी भएर भारत ओहोर–दोहोर अवरुद्ध भएको छ । 

महाकाली नदीमा पानीको बहाव बढेसँगै भारतीय पक्षले शारदा ब्यारेज (बनबासा) पुलमा चारपाङ्ग्रे सवारी साधनको अवागमन बन्द गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । 

आज बिहान गरिएको मापनअनुसार महाकाली नदीमा पानीको बहाव एक लाख १७ हजार ४०० क्युसेक रहेको प्रहरीले जनाएको छ । गड्डाचौकी प्रहरीले बिहान १० बजेदेखि पुलमा पैदल र मोटरसाइकल चल्न दिइए पनि ठूला सवारीसाधन रोक लगाइएको छ । 

विगत लामो समयदेखि पुल जीर्ण भएका कारण भारतीय पक्षले महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्दा आवागमनमा रोक लगाउँदै आएको छ ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले महाकालीमा पानीको बहाव बढ्दै गएको जानकारी दिनुभयो । उहाँले पानीको बहाव बढेसँगै महाकाली नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रहसमेत गरिएको बताउनुभयो । 

शनिबार रातिदेखि भइरहेको वर्षाका कारण कञ्चनपुरका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै जनजीवनसमेत प्रभावित बनेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया