अहिलेसम्म एक लाख ३७ हजार नेपाली विदेशबाट घर फर्किए : उद्धार उडान बन्द गर्ने तयारी

 कात्तिक २५, २०७७ मंगलबार ७:५५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परि फर्कनै पर्ने अवस्थामा रहेका एक लाख ३७ हजारभन्दा धेरै नेपालीको उद्धार गरेको छ ।

पछिल्लो विवरण अनुसार एक लाख ३७ हजार ४ सय ४२ जना नेपालीको उद्धार भएको हो । उनीहरुलाई विभिन्न ६० देशबाट उद्धार गरिएको छ । तीमध्ये सबैभन्दा बढी यूएईबाट ४० हजार ६ सय १२ जना स्वदेश फर्किएको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को तथ्याङ्कमा उल्लेख छ । त्यस्तै कतारबाट २६ हजार ७ सय ६० जना स्वदेश फर्किएका छन् ।

मलेसियाबाट १८ हजार ९ सय ३३ जना र साउदीबाट १८ हजार ८ सय ९५ जना स्वदेश फर्किएका छन् । सीसीएमसीले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार सकिएकाले उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।

कुनै देशबाट पुनः उद्धार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने सीसीएमसीको निर्णय छ । विभिन्न देशमा रहेका नेपाली कुटनीतिक नियोगहरुले झण्डै उद्धारको काम सकिएको जानकारी गराएपछि उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताउनुभयो ।

कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नागरिकलाई आठ महिनादेखि उद्धार उडानमार्फत् स्वदेश ल्याएको र अब उद्धार उडान रोक्ने तयारी भएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया