५ सय ९६ पालिकामा टेलिकमको फोर जी, छिट्टै पहिलो नम्बरमा पुग्ने दाबी

 कात्तिक २६, २०७७ बुधबार ६:१९:१८ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै - देशैभरि चौथो पुस्ताको नेटवर्क अर्थात् फोर जी सेवा पुर्याउन नेपाल टेलिकमले २०७५ सालको माघमा झण्डै १९ अर्ब रुपैयाँमा दुई चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।  

टेलिकमले सीसीएसआईसँग रेडियो एक्सेस नेटवर्क र जेडटीईसँग कोर नेटवर्क विस्तारको ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता अनुसार २०७६ सालको माघमा देशभर फोर जी सेवा पुगिसक्नुपर्ने थियो, तर अहिलेसम्म यो काम पूरा भएको छैन । फोर जी सेवा विस्तारमा पछि पर्दा नेपाल टेलिकमले फोर जी सेवाको बजारमा अग्रता बनाउन सकेको छैन ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार भदौ महिनासम्म नेपाल टेलिकमका फोर जी ग्राहकको संख्या १६ लाख ४ हजार रहेको छ, जबकी निजी क्षेत्रको एनसेलका फोर जी ग्राहक ३७ लाख २९ हजार पुगेका छन् । नेपाल टेलिकमले छिटै नै देशभरि फोर जी सेवा विस्तार गर्ने र गुणस्तरमा पनि सुधार गरेर आफूलाई पहिलो नम्बरमा पुर्याउने लक्ष्य रहेको जनाएको छ । 

७७ जिल्लाका ५ सय ९६ पालिकामा टेलिकमको फोर जी

चिनियाँ कम्पनीसँग भएको सम्झौता अनुसार २०७६ सालको माघमै देशका सबै पालिकामा फोर जी नेटवर्क सञ्चालन भइसक्नुपर्ने थियो । सामान्य अवस्थामा काम भइरहँदा पनि २०७६ सालको माघसम्म देशैभरि फोर जी सेवा सञ्चालनको सम्भावना थिएन, त्यसैमाथि कोरोना महामारीले कामलाई झनै प्रभावित बनायो । 

अहिले देशका ७७ वटै जिल्लामा ५ सय ९६ पालिकामा टेलिकमको फोर जी नेटवर्क सञ्चालनमा रहेको प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो । ‘देशको भौगोलिक अवस्थाका कारण यसै पनि हामीलाई काम गर्न अप्ठेरो थियो, त्यसैमाथि कोरोना महामारी सुरु भएपछि गएको वर्ष नयाँ वर्ष मनाउन चीन गएका प्राविधिक र कामदार आउन पाएनन्, उपकरण पनि ठप्प भयो, नेपालमै पनि लकडाउन भयो, यस्तै यस्तै कारणले गर्दा फोर जी विस्तारमा केही ढिलाइ भएको छ’ प्रवन्ध निर्देशक अधिकारीले भन्नुभयो । 

असोजदेखि कामले गति लिएकाले यो आर्थिक वर्षभित्र देशैभरि फोर जी सेवा सञ्चालन  हुने अधिकारीको दाबी छ । 

टेलिकमको फोर जी नेटवर्क ढिला चलेको गुनासो किन ?

ग्राहकले नेपाल टेलिकमको फोर जी सेवा अत्यन्तै ढिलो चलेको गुनासो गरेका छन् । मोबाइलमा फोर जी को सिग्नल देखाए पनि कुनै कुनै ठाउँमा टू जी जत्तिकै पनि नचलेको धेरैतिरबाट गुनासो आउने गरेको छ । यसबारेमा जिज्ञासा राख्दा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले दुई कारणले यस्तो समस्या आएको जानकारी दिनुभयो । 

पहिलो कारण विकट ठाउँहरुमा सोलारमार्फत चलाइएका टावरले घाम नलागेको कारण पावर नपुगेर काम गर्दैनन् । कुनै ठाउँमा अप्टिकल फाइबरमार्फत ब्याकअप दिए पनि अप्टिकल फाइबर नभएका हिमाली र उच्च पहाडी जिल्लामा रेडिएसमार्फत मात्रै दिनुपर्ने बाध्यता भएकाले समस्या भएको अधिकारीको भनाइ छ । 

दोस्रो कारण नेपाल टेलिकमले अहिले ८ सय मेगाहर्ज र १८ सय मेगाहर्ज गरेर दुई वटा फ्रिक्वेन्सीमा फोर जी सेवा सञ्चालन गरिरहेको छ । १८ सय मेगाहर्जको फ्रिक्वेन्सीमा पुराना सेटले सपोर्ट गर्ने भए पनि ८ सय मेगाहर्जको फ्रिक्वेन्सीमा पुराना सेटले सपोर्ट नगर्दा समस्या आएको छ । ८ सय मेगाहर्जको फ्रिक्वेन्सी नयाँ मोबाइल सेटले मात्रै काम गर्ने हुँदा फोर जी नचलेको या ढिलो चलेको देखिने प्रबन्ध निर्देशक अधिकारीको भनाइ छ । 

फोर जी ग्राहकको संख्यामा छिटै पहिलो नम्बरमा पुग्ने दाबी

नेपाल दूरसञ्चार प्राधिकरणको गएको भदौसम्मको तथ्याङ्क हेर्दा नेपाल टेलिकमका फोर जी ग्राहक भन्दा एनसेलका ग्राहक दोब्बर भन्दा धेरै छन् ।

नेपाल टेलिकमका फोर जी ग्राहक १६ लाख ४ हजार छन् भने एनसेलका ग्राहक ३७ लाख २९ हजार रहेका छन् । तर फोर जी ग्राहकको वृद्धिदरमा टेलिकम धेरै अघि रहेको छ । गएको असार अन्तिमसम्म ८ लाख ४३ हजार फोर जी ग्राहक रहेको टेलिकमले अहिले १६ लाख ४ हजार पुर्याएको छ । तर एनसेलका ग्राहक भने उल्टै घटेका छन् ।

असारमा एनसेलका फोर जी ग्राहक ३७ लाख ४६ हजार रहेकोमा भदौ अन्तिममा आइपुग्दा ३७ लाख २९ हजार रहेका छन् । तपाइँहरुका भन्दा दोब्बर ग्राहक एनसेलका छन, फोर जी को दौडमा तपाइँहरु सधैँ दोस्रो हुने हो ? भन्ने उज्यालो अनलाइनको प्रश्नमा टेलिकमका प्रबन्ध निर्देशक अघिकारीले भन्नुभयो, ‘दूरसञ्चार प्राधिकरणको भदौसम्मको डाटामा हाम्रा ग्राहक १६ लाख ४ हजार देखिएको छ, तर पछिल्लो ३ दिनमा फोर जी चलाउनेको संख्या २५ लाख भन्दा धेरै छ भने पछिल्लो २४ घन्टा (आइतबारदेखि सोमबारसम्म) मा फोर जी चलाउनेको संख्या साढे २० लाख रहेको छ ।’

पहिले थ्रि जी रहेका झण्डै ७० लाख सिम कार्डलाई फोर जी चल्ने बनाइएको अधिकारीको भनाइ छ । ‘७० लाख ग्राहकका सिमलाई हामीले फोर जी चल्ने बनाइदिएका छौँ, उहाँहरुले जुनसुकै बेला चलाउन सक्नुहुन्छ, त्यसैले हाम्रा ग्राहक तीव्र रुपमा बढ्छन्, हाम्रो प्रतिस्पर्धी कम्पनीलाई छिटै नै उछिनेर हामी फोर जी मा पहिलो नम्बरको कम्पनी बन्छौँ’ टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया